Shittalpati
सडकमा मकै पोल्ने र सालको पात बेच्नेलाई स्थानीय सरकारको सहयोग

बुटवल, अधिकांस स्थानीय सरकारको ध्यान सडक र पूर्वाधार निर्माणमा मात्र केन्द्रीत हुने गरेको छ । साझाँ विहान हात जोड्न धौं धौं हुनेहरुका लागि सडक र पूर्वधार निर्माणले कुनै अर्थ राख्दैन । गरिब, विपन्न र असहायहरुको समेत अभिभावक बन्नुपर्ने स्थानीय सरकारहरु सडक र भवन निर्माणमै तछाडमछाड गरिएरहेका छन् । तर केही स्थानीय सरकार भने तिनै विपन्न, असहायहरुका लागि असल अभिभावक बन्ने प्रयास गरिरहेका छन् ।

 बुटवलको बुटवल उपमहानगरपालिकाले साँझ विहान चुलो बाल्न सडकमा मकै  पोल्ने हुन् वा सालका पात बेचेर जीवन चलाई रहेकाहरु हुन् उनीहरुको दुखमा अभिभावकिय  भूूमिका निर्वाह गर्ने गरेको छ । उसले बुटवलका विभिन्न सडक छेउमा बसेर मकै बेच्ने र सालका पात टिपेर बेच्दै आएका महिलाहरुकोे कामलाई थप परिष्कृत र व्यवसायिक बनाउने उद्देश्यले उपकरण खरिदका लागि अनुदान सहयोग गरेको छ । उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवद्र्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको हो । मकै पोल्ने र सालको पात बेचेर
जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५/५ हजारका दरले सहयोग उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ ।  नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल र प्रवक्ता शिव रानाले ३७ जना महिलाहरुलाई सम्मानसहित सो रकम हस्तान्तरण गरेका थिए । प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए । उनले नगरले दिएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई थप स्तरीय बनाउनका लागि सहयोग हुन विश्वास व्यक्त गरे । उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उद्देश्य लिएको र सोहीअनुसार काम गर्दै आएको पनि बताए । 

प्रमुख पाण्डेयले बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएको बताउँदै नगरवासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले सानो अनुदानले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेमा आफुहरु विश्वस्त रहेको  बताइन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update