Shittalpati
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर

पाल्पा, चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंकहरुले आजदेखि लागु हुने गरी निक्षेपको ब्याज घटाएका हुन् ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये एनआईसी एसियाबाहेक सबैले ब्याजदर घटाएका छन् । एनआईसी एसियाले भने यही फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशतले ब्याजदर बढाएको छ । नयाँ ब्याजदर अनुसार चैतमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ८.५४ प्रतिशत र सबै भन्दा कम ५.६६ प्रतिशत छ । निक्षेपको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्ने छ । बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने छ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले चैतका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update