Shittalpati
सुन र चाँदीको मूल्य घट्यो

पाल्पा, पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको सुनको भाउ मंगलबार भने घटेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारले कमी आई प्रतितोला एक लाख २४ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३० ले कमी भई प्रतितोला  एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला करिब ३२ हजार बढेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २६ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढेको देखिन्छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update