Shittalpati
‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’

पाल्पा, शेर्पा समुदायले ग्याल्पो ल्होसार माघ २७ मै भए पनि सरकारले भने आज विदा दिएको बताएका छन् । सोमबार ताप्लेजुङका शेर्पा समुुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्याल्पो ल्होसार गत माग २७ गतेका दिन मै परेको भएता पनि नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा दिएको उल्लेख गरेका हुन् ।

उनीहरुले यस वर्ष शेर्पाहरूको महान् चाड २१५१ औँ ग्याल्पो ल्होसार मनाइसकिएको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको पात्रोलाई आधार मानेर सरकारले विदा दिएको प्रति आपत्ति जनाएका छन् । समग्र हिमाली बौद्ध मार्गीहरूको चाड पर्वको तिथि नै भ्रममा पारिएको ज्ञापन पत्रमा उल्लेख छ । शेर्पा सुमुदायले यस विषयमा गम्भीर आपत्ति जनाउँदै आगामी दिनहरूमा यस्तो गल्ती नगर्न  प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सकारलाई ध्यानाकर्षण गराएका छन् ।

‘विश्वको विभिन्न देशको भ्रमण गर्ने क्रममा हाम्रो देशका सरकार प्रमुख, प्रधानमन्त्री, मन्त्री लगायत देशको उच्च तहमा जिम्मेवारी वहन गरी राज्य सञ्चालन गर्ने सरकारले आफ्नो परिचयको क्रममा बुद्ध जन्मेको देश भनेर परिचय दिने तर साँच्चिकै बुद्ध जन्मभूमिमा बसोबास गर्ने बौद्ध मार्गीहरूको महत्वपूर्ण तिथि मिति, चाडपर्वहरूमा भने पुरै बेवास्ता गरी बौद्ध मार्गी तथा सोझा सिधा शेर्पा समुदायहरूमाथि सरकारले विभेद गरिएको प्रस्ट देखिएको छ’ ज्ञापन पत्रमा भनिएको छ । महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रोमा आधार मानी मान्ने मनाउने भएकाले आगामी दिनमा त्यही मितिअनुसार बिदा दिन पनि माग गरिएको छ ।

सोमबार ग्याल्पो ल्होसार भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । पर्वको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् ।

आइतबार नेपाल शेर्पा संघ जिल्ला कार्य समितिका अध्यक्ष पासाङ रिता शेर्पा, शेर्पा सञ्चार समूहका सचिव तेञ्जीङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका जिल्ला अध्यक्ष मिङ्मा खाण्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष मिङ्मा दिकी शेर्पाले संयुक्त रुपमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र  पठाएका हुन् । यसअघि गत माघ २५ गते नै नेपाल शेर्पा संघको केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै ग्याल्पो ल्होसार भोटचन्द्र पात्रोअनुसार सुधार गर्न पञ्चाङ्ग निर्णायक समितिलाई अनुरोध गरे पनि नभएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update