Shittalpati
चिर्तुङ्गधारामा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास

पाल्पा, जिल्लाको बगनासकाली–१, चिर्तुङ्गधारा स्थित हिराबारीमा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवनको शिलान्यास गरेको हो ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले भवनको शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै सांसद रानाले योग, ध्यान अहिलेको आवश्यकता रहेकाले मन्दिर निर्माणले सार्थकता पाउनु पर्ने बताए । उनले समाज विकासका पक्षमा साँझा संकल्प आवश्यक रहेको समेत धारणा व्यक्त गरे । प्रमुख अतिथि समेत रहेका रानाले राजयोग, साधना र दिव्य प्रवचनसहितका कार्यक्रमले मानवीय मूल्य मान्यताको विकास गरी सकरात्मक संकल्प र कर्मबाट खराब आचरण त्याग्न सकिने बताए । कार्यक्रमका संयोजक तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रका सचिव ब्रह्मकुमार भानुप्रकाश पौडेलले प्रवचन हल, आधारभूत पूर्वाधारसहित ५ करोडको लागत अनुमानमा भवन निर्माणको संकल्प रहेकाले भवन निर्माण सहजताको लागि स्थानीयको सहजीकरण आवश्यक हुने बताए । उनले समाजमा सकरात्मक सोच, तनाव व्यवस्थापन र ईश्वरीय ज्ञान प्रवाह गर्न र वृहत्त कार्यक्रमसहित पाल्पाको पर्यटकीय विकासमा समेत पूर्वाधार निर्माणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव हरि बस्याल, इतिहासविद् निर्मल श्रेष्ठ, सामाजिक अभियन्ता शुकदेव खनाल, भैरहवा शाखाका ब्रह्मकुमार भुवन, ब्रह्मकुमारी कमला लगायतले विचारको शुद्धिकरणले मन शुद्धिकरण हुने भन्दै जीवन सहज र सार्थक बनाउन ईश्वरीय ज्ञान आवश्यक हुनेमा जोड दिए । कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवा, रामपुर, मदनपोखरा, गुल्मी, रुपन्देही लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको थियो । 

स्थानीय रामप्रसाद ढुङ्गाना, शम्भु ढुङ्गानासहित चारजना ढुङ्गाना परिवारले ५ रोपनी जग्गा भवन निर्माणको लागि दिएका थिए । समारोहमा जग्गा प्रदान गर्ने दाताहरूलाई अभिनन्दन, स्नेह मिलन, प्रवचन कार्यक्रम समेत गरिएको थियो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रकी सञ्चालिका प्रेमा दिदीको अध्यक्षता, रामपुर शाखाकी सञ्चालिका ब्रह्माकुमारी सरस्वतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update