Shittalpati
तानसेन ४ मा नारी दिवस : नारी हकहित र अधिकारका कुरा

पाल्पा, तानसेन नगरपालिका ४ मा नारी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका टोलविकास समितिमा आवद्ध महिलाहरुले बिहीबार ११४ औं दिवसको सन्दर्भ पारेर कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा समितिमा आवद्ध महिलाहरुले नारी हकहित र अधिकारका विषयमा आ–आफ्ना धारणा राखेका थिए । सिल्खान टोलविकास संस्था २ की अध्यक्ष रमा पन्तले नारीहरु पनि पुरुष सरह काम गर्न सक्षम रहेता पनि राज्यले धेरै कुरामा विभेद गरेको बताइन् । उनले विश्वमै नारीहरुले रचनात्मक काम गरेर आफ्नो अधिकार स्थापित गर्न सक्षम हुँदै आएको बताउँदै अवसर पाए नारीले पनि समाजमा उत्कृष्ट काम गर्न सक्ने धारण व्यक्त गरिन् ।

कार्यक्रममा वडा सदस्य सीता बस्नेतले नागरिकहरु जबसम्म एकजुट हुन सक्दैनन्  तबसम्म अपहेलित हुनुपर्ने बताउँदै नारीहरु एक जुट हुन आग्रह गरिन् । उनले नारीहरुले सीप र दक्षता हासिल गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले आत्मविश्वास राखेर अगाडि बढ्न सके पुरुष सरह नारीले पनि काम गर्न सक्ने बताए । उनले भने ‘कतिपय नारीहरुले पनि पुरुष सरह समाज र  देशका लागि काम गरेका उदाहरण छन्, त्यसका लागि आत्मविश्वास हुन जरुरी छ ।’ कार्यक्रममा टोलविकास समितिका महिलाहरु दमयन्ती बजिमय, भुनु थापा, शारदा कर्माचार्य, ज्योतिराज भण्डारी, सुष्मा लोहनी, पदमा भट्टराई, सावित्रा पाण्डे, मीना थापा, भगवती दर्नाल लगायतले महिला हकहित र सामाजिक परिवेशका बारेमा आ–आफ्ना धारणा राखेका थिए । वडा सदस्य सीता बस्नेतको अध्यक्षता, वडा सचिव वृन्दा खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।    

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update