Shittalpati
प्रहरी कल्याणकोषको न्यायोचित वितरण गर्न पुर्व प्रहरी संगठनको ३५ दिने अल्टिमेटम  

पाल्पा, नेपाल पूर्व प्रहरी संगठन पाल्पाले प्रहरी कल्याणकोषको सञ्चालक समितिबाट दुरुपयोग भएको भन्दै न्यायोचित रुपमा वितरण गर्न ३५ दिने अल्टिमेटम दिएको छ । संगठनले प्रहरी कल्याणकारी कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बैंक, नगद र सम्पत्ती हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ती ५ अर्ब मात्र देखिएकाले ८ अर्ब अनियमिता भएको भन्दै छानविनको माग गरेको छ । उसले ६ बुदे माग प्रस्तुत गर्दै ३५ दिन भित्र पुरा नभएमा देशव्यापी रुपमा सडक तथा कानुनी उपचारको लागि आन्दोलनमा उत्रिने घोषणा गरेको हो ।

संगठनले २०४९ सालदेखी २०६९ सालसम्मको प्रहरी कल्याणकोषको आय–व्ययको हिसाव– किताब गर्न एक स्वतन्त्र छानविन समिति गठन गर्नु पर्ने माग गरेको छ । कल्याणकोषको मुलधन वा व्याजको आधारमा ४० प्रतिशत बहालवाला, ४० प्रतिशत पुर्व प्रहरी र २० प्रतिशत आयमुलक कार्यमा खर्च गर्ने नितिगत व्यवस्था गर्नुपर्ने माग संगठनले गरेको छ । प्रहरी कल्याणकोषको सञ्चालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पुर्व प्रहरी संगठन वा प्रहरीबाट हुनुपर्ने, बहालवाला प्रहरीको काम शान्ती सुरक्षा दिने भएकाले व्यापार नगरी  कल्याणकोषबाट गरिने व्यापारिक कार्यहरु पुर्व प्रहरी संगठनलाई दिनु पर्ने माग राखेको छ । प्रहरी कल्याणकोषको समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा कोषको कार्यालयसहित दुई जना पुर्व प्रहरी र सबै प्रदेश कार्यालयमा एक/एक जना पुर्व प्रहरीहरु राखी योग्यता अनुसारको सेवा सुविधा सहित कार्यालय सञ्चालन गर्ने र निजहरुलाई सहयोग गर्न पुर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने माग संगठनले गरेको छ । प्रहरीका अमर सहिद परिवारका सन्ततीको लागि १० प्रतिशत, प्रहरी परिचरदेखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्व प्रहरीहरुको सन्ततीहरुलाई ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्न संगठनले माग गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष रमेश बोहोराले प्रहरी कल्याणकोषको न्यायोचित वितरणको लागि ६ बुँदे ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालय पाल्पाका  प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठलाई बुझाए । ज्ञापनपत्र बुझ्दै डिएसपी श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा पठाउने जानकारी दिए । आफुहरुको माग पुरा नभए कानुनी, प्रशासनिक र दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने संगठनका जिल्ला अध्यक्ष बोहोराले चेतावनी दिए । संगठनले बढीज्ञान टोल, लहरेपिपल, सिल्खानटोल, मखनटोल हुँदै र्‍याली सहित जिल्ला प्रहरी कार्यालय पाल्पामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा करीव एक सय जना भन्दा पुर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update