Shittalpati
सयुक्त टोल विकास संस्थाले तानसेन महोत्सवमा पाएको पुरस्कार रकम वृद्धाश्रमलाई दियो  

भरत शर्मा
पाल्पा,
सयुक्त टोल विकास संस्था तानसेन ४ ले पुरस्कारबाट प्राप्त भएको रकम तानसेनस्थित नील सागर वृद्ध सहारा आश्रमलाई सहयोग गरेको छ । संस्थाले तानसेन महोत्सवमा आयोजित झ्याकी, र्‍यालीमा सान्तवना भई पाएको पुरस्कार रकम आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजनका लागि सहयोग गरेको हो ।

टोलविकास संस्थाले पुरस्कारबापत पाएको ३  हजार ७ सय ५० र संस्थाका सदस्यहरुबाट संकलित रकम गरी ५ हजार बराबरको भोजन दान गरिएको संयोजक भुनु थापा बरालले बताइन् । संस्थाका सदस्यहरुको एक टोली भुसलडाँडास्थित आश्रममै पुगेर एक छाक भोजन गराएका हुन् । संस्थाकी सदस्य सीता बस्नेतले बुबाआमा सरह वृद्धहरुलाई सानो सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताईन् । सिल्खान टोल विकास संस्थाकी अध्यक्ष रमा पन्तले आश्रममा रहेका बुबाआमाको दुःख, पीडा देख्दा आफू निकै चिन्तित भएको र भविष्यमा सक्दो सहयोग जुटाउने प्रतिवद्धता जनाईन् । विशाल बजार टोल विकास समितिकी अध्यक्ष दमयन्ती बजिमयले पैसा भन्दा मन ठूलो भएकाले यस्ता रचनात्मक सहयोग गर्न लागि पर्ने बताईन् ।

आश्रममा हाल २६ जना बेसाहारा वृद्धवृद्धाहरु रहेका छन् । निलसागर आश्रमका सदस्य तथा तानसेन १ का वडा सदस्य राम प्रसाद भट्टराईले  टोलविकास संस्थाबाट आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । सदस्य भट्टराईले भने ‘हामीले सहयोगीहरुबाटै वृद्धवृद्धाहरुको व्यवस्थापन गर्दै आएका छौं, अहिले उनीहरुलाई खानाको व्यवस्थापन गर्न निकै धौं धौं भएको छ ।’ पहिल्लो समय आश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गर्ने क्रम बढ्दै गए पनि यसको स्थायी आर्थिक सो्रतका लागि नगर सरकारको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update