Shittalpati
रामपुरमा सञ्चालित मेलमिलाप सम्बन्धी तालिम सकियो

पाल्पा, जिल्लाको रामपुर नगरपालिका भित्र सञ्चालित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि भएको तालिम सकिएको हो ।

नगरपालिकाका वडाहरुमा हुने विभिन्न विवाद मेलमिलापका लागि मेलमिलापकर्ताहरुलाई तालिम दिइएको नगरपालिकाले जनाएको छ । ‘हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप’ भन्ने नाराका साथ तालिम दिइएको हो । नगरकापालिकाका १० वटै वडाबाट सिफारिस भई आएका मेलमिलापकर्ता र जनप्रतिनिधिहरुलाई तालिम दिइएको छ । उनीहरुलाई मेलमिलाप सम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको प्रक्रियाका आधारभूत चरण, सामाजिक न्याय,मानव अधिकार, लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला अधिकार लगायतका विषयमा जानकारी दिइएको थियो । समापनका अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले तालिममा सहभागी मेलमिलापकर्ताहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरण गर्दै उनले वडाका सबै नागरिकलाई न्यायको अनुभूति दिने गरी काम गर्न  सहभागीहरुलाई आग्रह गरे । उनले विचार र आस्था फरक भए पनि मेलमिलाप र न्याय सम्पादन इमान्दारिताका साथ गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख थापाले भने ‘कुनै पनि मुद्दा मामिला माथिल्लो निकायमा नजाने गरी मेलमिलापकर्ताको अधिकारको पूर्ण प्रयोग गर्दै काम गर्नुपर्छ ।’ उपप्रमुख बालकुमारी थापाले ईमान्दारिताका साथ हरेक विवादलाई मेलमिलाप मार्फत निरुपण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले मेलमिलापकर्ताको क्षेत्राधिकार भित्र रहेर गाँउ टोलमा हुने विवाद र मुद्दालाई समाधान गर्न  समेत आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले निष्पक्ष रुपमा न्याय सम्पादन गरेर मेलमिलापयुक्त नगर बनाउनु पर्नेमा जोड दिए । 

रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले तालिमबाट सैद्धान्तिक उपलब्धि प्राप्त भएकाले अब गाउँ समाजमा गएर सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताए । तालिमका प्रशिक्षक हरिप्रसाद पण्डितले तालिममा सिकेका कुरा तालिममा मात्र सिमित नराखी व्यक्तिगत र सामाजिक जीवनमा प्रयोग गर्न सहभागीहरुलाई आग्रह गरे । तालिममा ३० जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अधिवक्ता द्वय गीता आचार्य र हरि प्रसाद पाण्डितले गरेका थिए । उपप्रमुख तथा न्यायीक समितिका संयोजक बालकुमारी थापाको अध्यक्षतामा, न्यायिक समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update