Shittalpati
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु

पाल्पा, देशका विभिन्न  स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, आगलागी र अकस्मात भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको अकालमै ज्यान गएको हो ।

 गोरखा र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–७ भालुश्वाँरामा मोटसाइकल दुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ ।  बा.९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ नयाँ साघुका २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै झापाको मेची नगरपालिका–५ घोडाधिनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ५५ वर्षीया देविमाया विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै कास्की र झापामा मृत अवस्थामा दुई जनाको शव फेला परेको छ । कास्कीको पोखरा महानगरपालिका–१६ हरीपाउ देउराली डाँडा बस्ने ३८ वर्षीय हरिकुमार परियार सोही ठाउँस्थित वनपाले सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् । फागुन ११ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।  उता झापाको बिर्तामोड नगरपालिका–९ सम्झना चोक बस्ने ६४ वर्षीया नर माया तामाङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–६ बिपिचोकमा आगालागी हुँदा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–५ घर भएकी ५२ वर्षीया गोपी माया कट्वालको कोठामा आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । सबै घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update