Shittalpati
तिलोत्तमा आइसोलेशन सेन्टर तयार

रुपन्देही । तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । केन्द्रका लागि एक/एक चिकित्सक नर्स नियुक्त गरिएको छ । बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा सेन्टर निर्माण गरिएको स्वास्थ्यचौकी इञ्चार्ज केशव भट्टराईले बताए । दश शैयाको सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताए । 

सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिए । नगरपालिकाले आफ्नै स्रोतमा दुई चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ । दश स्वास्थ्य संस्थामा झण्डै ८० कर्मचारी कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा.पाठकले बताए । उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेट्रोन र कोरोना फोकल पर्सन डा.सुदर्शन थापाको सुझावका आधारमा काम भइरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गका लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ । –रासस

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update