Shittalpati
रामपुर नगर सरकारले दियो विद्यालयलाई ‘स्मार्ट बुक’

पाल्पा, जिल्लाको रामपुर नगर सरकारले यहाँका विद्यालयहरुलाई स्मार्ट बुक दिएको छ । नगर सरकारले  यहाँका ४ वटा विद्यालयलाई अडियो डिभाईश सहितको स्मार्ट बुक दिएको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम हुँदै गएकाले शिक्षण सिकाईलाई प्रभावकारी बनाएर आकर्षण वढाउन स्मार्ट बुक (टकिङ टिचर) प्रविधिबाट पढाई सञ्चालन गर्न स्मार्ट बुक वितरण गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । परम्परागत शिक्षण पद्दतीले विद्यार्थीको रुचि घट्दै गएकाले सामुदायिक विद्यालयहरुमा ‘टकिङ टिचर’ प्रविधि सञ्चालनका लागि स्मार्ट बुक वितरण गर्न थालिएको जनाइएको छ ।

नगर सरकारले राम तुलसी नमुना माध्यमिक विद्यालय, रामपुर आधारभूत विद्यालय, ज्ञान मञ्जरी प्राथमिक विद्यालय र नवदुर्गा माध्यमिक विद्यालयलाई स्मार्ट बुक वितरण गरेको हो । स्मार्ट बुकले विद्यालयमा अध्ययनरत स–साना बालबालिकालाई अध्ययन गर्न सजिलो हुने नगरपालिकाले विश्वास व्यक्त गरेको  छ । किताब छोएपछि आफै बज्ने र स्मार्ट बोर्डमा देखिने प्रविधि सहितको शैक्षिक सामग्री स्मार्ट टकिङ बुक ४ वटा विद्यालय छनौट गरेर प्रदान गरिएको हो । उक्त किताबमा अंग्रेजीका १ हजार शब्द र ५ सय नेपाली शब्द रहेका छन् । विद्यालयलाई स्मार्ट बुक सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख रमण बहादुर थापाले प्रविधिको समयसँगै नगरका विद्यालयबाट प्रदान गरिने शिक्षालाई प्रविधियुक्त  र गुणस्तरीय बनाउनका लागि अडियो डिभाइस सहितको सामग्री प्रदान गरेको बताए । अहिले पहिलो चरणमा ४ वटा विद्यालयलाई पाइलट टेष्टको रुपमा वितरण गरिएको र यो प्रभावकारी भएमा अन्य विद्यालयलाई पनि वितरण गर्ने उनको भनाई छ । पहिलो चरणमा अभ्यासका लागि वितरण गरेको सामग्रीको सही सदुपयोग गरी सिकाई उपलब्धिमूलक बनाउन नगर प्रमुख थापाले विद्यालयलाई आग्रह समेत गरे । विद्यालयमा अध्ययन गर्ने स–साना बालबालिकालाई अध्ययन गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यालयलाई स्मार्ट टकिङ बुक वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । 

अहिले विद्यालयले गरेको कार्य सम्पादनको आधारमा विद्यालय छनौट गरिएको भन्दै यसको प्रभावकारी प्रयोग गर्न समेत उनले आग्रह गरे । शैक्षिक सामग्री बुझ्दै राम तुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले प्राप्त टकिङ बुकको सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाइलट टेष्टका लागि आफुहरुलाई छनौट गरेकोमा नगर सरकारलाई धन्यवाद दिए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, शिक्षा शाखा प्रमुख विकल काफ्लेलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update