Shittalpati
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता

पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पाले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । युनियनले संगठन विस्तार तथा सुदृढिकरण र कर्मचारीहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।

उसले केन्द्रीय प्रतिनिधि र जिल्लाको शुभेच्छुक पार्टी नेतृत्वको सहभागीतामा आफ्ना गतिविधिहरुलाई सक्रियताका साथ अगाडि बढाएको छ । निजामती कर्मचारीहरुले भोग्नु  परेका पिरमर्का, संघीय निजामती ऐन ल्याउन नसक्दा कर्मचारीहरुको वृद्धि विकासमा देखिएका समस्याहरुलाई संगठनात्मक रुपमा समाधान गर्न पहल गर्ने र सरकारलाई दवाव सिर्जना गर्न जिल्लामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै आइएको  युनियनका जिल्ला अध्यक्ष रवी अर्यालले बताए । उनका अनुसार केही दिन अघि रामपुरमा संगठन विस्तार गर्नुको साथै त्यहाँका कर्मचारीहरुले भोग्नु परेको समस्या, गुनासाहरुका बारेमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । यस्तै गत मंगलबार युनियनले तानसेनमा एक भव्य समारोहको आयोजना गरी संगठन विस्तार तथा सुदृढिकरण अभियानका बारेमा व्यापक छलफल चलाएको छ । युनियनले शुक्रबार पनि छलफल तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ । उसले नेपाली काँग्रेसको जिल्ला नेतृत्व र युनियनमा आवद्ध कर्मचारीहरुसँग बसेर संगठन, विस्तार कर्मचारीहरुले भोग्नु परेका समस्याका बारेमा छलफल गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  पार्टी र युनियनको बिचमा सुमधुर सम्बन्ध रहेको बताए । उनले नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध भएकै कारण जिल्लामा कसैले कर्मचारीलाई दुःख दिएमा त्यस्तो अवस्थामा पार्टी चुप लागेर नबस्ने समेत बताए । आफ्नो संगठनमा आवद्ध भएका कर्मचारीहरुको संरक्षण र बुद्धि, विकास गर्नको लागि नेतृत्वको महत्वपुर्ण भूमिका रहेको भन्दै सभापति श्रेष्ठले निजामती कर्मचारी युनियनको नेतृत्वलाई  त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए । उनले भने ‘अहिले संक्रमणकालिन र नयाँ बाटो दुवै लिन लागेको अवस्था हो । यस्तो अवस्थामा उपलब्धी कायम राख्नुपर्छ, त्यसका लागि नेतृत्वमा रहेका साथीहरु  चनाखो बन्न जरुरी छ ।’ कर्मचारीहरुको अधिकार सुनिश्चत गर्ने दिशामा नेपाली काँग्रेस प्रतिवद्ध भए लाग्ने समेत सभापति श्रेष्ठले बताए । उनले अझै पनि स्थानीय तहमा रहेका कर्मचारीहरु बाहिर रहेकाले उनीहरुलाई  पनि समेटेर लैजाने दिशामा युनियनले ध्यान दिनुपर्नेमा जोड दिए ।  

युनियनका केन्द्रीय उपमहासचिव इन्दु शर्माले पछिल्लो समय राजनीति दल र कर्मचारीप्रति जनताको वितृष्ण पैदा भएको भन्दै त्यस्तो वातावरण सिर्जना हुन नदिन युनियनले प्रभावकारी भूमिका खेल्नु पर्ने बताए । उनले सधै कर्मचारीहरुको हकहितको लागि अग्रपंक्तिमा रहेर युनियनले आफ्ना गतिबिधि सञ्चालन गर्दै आएको धारणा समेत व्यक्त गरे । उपमहासचिव शर्माले आठ –आठ वर्ष हुँदा समेत  राज्यले संघीय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको बृद्धि विकास रोकिनु दुःखद भएको बताए । ऐन ल्याउनको लागि युनियन राज्यसँग गम्भिर भएर वार्ता छलफल गरिरहेको पनि उनले बताए । कर्मचारीहरुको हितमा निजामती ऐन ल्याउन लागि परेको उनको भनाई छ । शर्माले भने ‘हामी उत्कृष्ट खेल खेलिरहेका छौं, तर गोल हान्न सकेका छैनौं ।’ अबको केही दिनमा कर्मचारीलाई सम्बोधन हुने गरी संघीय निजामती ऐन संसदमा पेश हुने समेत उनले बताए । शर्माले यदि ऐन पारित नभएमा युनियन सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी दिर्दै सबैलाई तयारी अवस्थामा रहन समेत आग्रह गरे । कार्यक्रममा प्रजातन्त्र वन प्राविधिक संघका केन्द्रीय सदस्य रामचन्द्र लामा, सदस्य टेकबहादुर घर्ती लगायतले संघीय निजामती ऐन नबन्दा र प्रदेशले ल्याएको ऐन कार्यान्वयन नहुँदा आफुहरुले समस्या भोग्नु परेको बताएका थिए । उनीहरुले  काम नगरे गरेनन् भन्ने गरे कुनै न कुनै बाहनामा फसाउने प्रवृत्तिले आफुहरु समस्यामा परेको गुनासो गरे ।  शुक्रबार भएको कार्यक्रम युनियनका जिल्ला अध्यक्ष रवी अर्यालको अध्यक्षता, पूर्व जिल्ला अध्यक्ष विनोद घिमिरेको स्वागत, जिल्ला सचिव ओमप्रकाश न्यौपानेको सञ्चालनमा भएको थियो । युनियनको संगठन विस्तार तथा शुद्धिकरणका लागि  केन्द्रीय अर्का उपमहासचिव गणेश भण्डारी, केन्द्रीय सदस्यहरु विनोद अधिकारी, हरी ज्ञवाली लगायतका केन्द्रीय प्रतिनिधिहरुको सभागिता रहेको छ ।  

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update