Shittalpati
रिब्दीकोट गाउँसरकारले गर्‍यो श्रमिकलाई सम्मान, रक्सी खानेले गरे नखाने  प्रतिवद्धता

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ ।  पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।  

नियमित रुपमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दे आएका श्रमिकहरु र उनीहरुको श्रमलाई सम्मान गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले श्रममा लाग्न उतप्रेरण प्रदान गर्ने उद्देश्यले पालिकाले उनीहरुलाई सम्म्मान गरेको जनाएको छ । श्रम गर्ने मध्ये अधिकांसले जाँड रक्सी समेत सेवन गर्ने गर्दछन् । त्यस्ता श्रमिकहरुलाई समेत त्यस्तो कूलतबाट अलग राखी सहज, सरल र सम्मानजनक रुपमा समाजमा बाँच्न पाउने अधिकारको सुनिश्चत गर्नका लागि पनि पालिकाले श्रमिकहरुको खोजी गरी सम्मानको थालनी गरेको हो ।  पालिकाले उनीहरुलाई टिका, फूलमालासहित  पोशाक वितरण गरी सम्मान गरेको छ । 

हाम्रो समाजमा श्रमिकलाई अपमान गरिन्छ, जाड रक्सी खानेलाई गाली गरिन्छ, प्रहरीले पक्राउ गर्छ थाना चौकीमा लैजान्छ, थुन्छ, कानुनी कारवाही गर्छ । तर रिब्दीकोट गाउँ सरकारले  भने  ठिक उल्टो काम गरेको छ । पालिकाले सम्मान गर्दै गरेको कार्यक्रममा रिव्दीकोट गाउँपालिका –१ ख्याहाका रोशनबहादुर सुनार रक्सी खाएरै श्रीमती सहित गाउँपालिकाको सभाहलमा छिरे । आफु जस्तै नियमित रक्सी खाएर हिड्ने दर्जनौ श्रमिकहरुलाई गाउँपालिकाले टिका, फूलमालासहित पोशाकबाट सम्मान गरेको देख्दा उनी निकै खुसी देखिए । रोशन मञ्चमा गए, रक्सीको नसाले आफुलाई बहुला बनाएको गित गाए । कक्षा ८ मा पढ्दै गरेको छोरीलाई सम्झिए । छोरी अब चिन्ता नलिग, मैले आजदेखी रक्सी खान छोडे तिमिलाई चाहेजती पढाउने प्रतिवद्धता जनाए । सम्मानित भएका सबै रक्सी खानेहरुले तालि पिटे, मञ्चमा बसेका अतिथीहरुले आशु झारे । 

रिव्दीकोट– ३ खस्यौलीका सन्तबहादुर विश्वकर्माले पालिकाको सम्मान कार्यक्रममा आउँदासम्म विहानदेखी तीन गिलास रक्सी खाई सकेका थिए । गाउँपालिकामा प्रहरीहरु देख्दा हामीलाई पक्राउ गर्न बोलाएको हो की जस्तो  सन्त बहादुरलाई लागेको थियो तर रक्सीकै नसामा पनि  गाउँपालिकाले फूलमालाले सम्मान गरेपछी उनको दिमागमा केही हलचल भयो । ‘साथी भाईको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्वाद पारेको रहेछ, आजै देखी रक्सीको मात्रा घटाएर छोड्छु’ सन्त बहादुरले कार्यक्रमको मञ्चमै पुगेर वाँचा गरे । 

पालिका भित्र जाड रक्सी सेवन बाटै धेरै मानिसको घरवार विग्रिएको, परिवार लथालिङ्ग भएको, परिवार, समाजमा दिनहुँ झै झगडा कलह भएको, अन्त्यमा कम उमेरमै मानिसहरुको मृत्यु भईरहेका घटनाहरुलाई मध्य नजर गरेर रिव्दीकोट गाउँपालिकाले उनीहरुको सम्मान गरेको हो । स्थानीय सरकार  भनेकै जनताहरुको दुःखमा साथ दिने, सुसस्कृत समाज निर्माण गर्ने, विकृती विसंगती हटाउने, समाजमा मेल मिलापको वातावरण बनाउने, जनताको अविभावकत्व ग्रहण गर्ने भएकाले गाउँपालिकाले नियमित  जाड रक्सी खाने श्रमिकलाई खोजी खोजी सम्मान गरेर रक्सी खाने मन विचार बुद्धिलाई सही काममा मोड्नको लागि पहिलो पटक यो अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । ‘जाँड, रक्सी, सुर्ती, खैनी खाने नखाने सबैका लागि गाउँपालिका अविभावक हो । पालिका भित्र जाड रक्सी खानेलाई हामीले नसुधारे कसले सुधार्ने ? हामीले हेरचाह, परामर्श नगरे कसले गर्ने ? काम जानेका छन्, कोही सिर्कर्मी छन्, कोही डकर्मी छन्, कोही फलामको काम गर्छन् कोही ज्याला, मजदुर गर्छन्, दैनिक एक हजारदेखी पन्ध सय सम्म कमाउछन् तर दिउँसोमा कमाएको पैसा साँझमा उडाउछन्, जसको कारण, नत आफ्नो टुंगो लाग्छ, नत परिवारले राम्रो खान लाउन, शिक्षा दिक्षा पाउँछन, अन्तिममा कुकुर मोराईमा मानिसको मृत्यु हुन्छ , यस्ता व्यक्तिहरुलाई परिवर्तन गरी पारीवारीक सामाजिक क्षेत्रमा क्रियासिल बनाउनको लागि हामी लागिपरेका छौं’ उनले भने ।पालिकाले म बनाउछु मेरो रिव्दीकोट अभियान अन्र्तगत नयाँ योजनाका साथ अगडि बढेको अध्यक्ष कार्कीले बताए । 

गाउँपालिकाले पुरुष मात्र होइन नियमित रक्सी सेवन गरी घरवार लथालिङ्ग भएका महिला श्रमिकलाई समेत फूलमालाले सम्मान गरेको छ । विकास निर्माण संगै, सभ्य समाज निर्माण गर्नु, समाजमा हुने विकृती विसंगती हटाउनु, गलत बाटो तथा संस्कारमा लागेका व्यक्तिहरुलाई साहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकाले यो अभियान शुरु गरिएको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताईन । गाउँपालिकाले ठूला –ठुला काम गर्न सक्दैन, पर्याप्त बजेट हुँदैन । पालिका माथी प्रश्न आउन सक्छ जड्याहरुलाई सम्मान गर्ने, खाजा खुवाउने ? स्थानीय सरकार घरदैलोको सरकार भएकाले गाउँघरमा रहेको विकृती विसंगती हटाउने, जाड रक्सीमा बरालिएर घरवार विगारेका लाई सुधार गर्ने, नैतिक शिक्षा प्रदान गर्ने, सभ्य समाज निर्माण गर्ने जिम्मेवारी पनि पालिकाको भएकोले अन्यत्र नभएको चलन रिव्दीकोटले शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीनाले पालिकाले श्रमिकहरुको सम्मान  गरेर जिल्लामै नमूना काम गरेको  बताए । 
पालिकाभरीका नियमित जाड रक्सी खाने श्रमिकहरुलाई सम्मान मात्र होईन उनीहरुलाई रक्सी सेवन बाट हुने आफ्नो स्वास्थ्य, पारिवारिक अवस्था, समाजमा पार्ने प्रभाव, कानुनी दण्ड सजायसंगै कम उमेरमा हुने मृत्युको बारेमा पुर्व पत्रकार राम प्रसाद न्यौपाने, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, प्रहरी हवलदार गोविन्द किसानले प्रशिक्षण दिएका थिए ।  पालिकाले रक्सी छोड्ने युवाहरु लाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीमा प्राथमिकता दिने रोजगार संयोजक दुर्गा पछाईले बताईन । 

पालिकाले जोखिम मोलेर नयाँ कार्यक्रम शुरु गरेको र आगामी बर्ष, समाजमा हुने गरेका विकृती विसंगती हटाउन, जाड रक्सीमा भुलेका युवाहरुलाई श्रम र सिप, आयआर्जनसंग जोड्ने गरी गाउँपालिकाले नितिगत व्यबस्था गर्ने विषयमा छलफल शुरु भएको पालिकाका सूचना अधिकारी रुकलाल भट्टराईले बताए । कार्यक्रममा आएका अति विपन्न गरिव आर्थिक अवस्था कमजोर भएका ३०  श्रमिकका घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलव भत्ताबाट निशुल्क रुपमा स्वास्थ विमा समेत गरिदिएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update