Shittalpati
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।

गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले शितलपाटीलाई जानकारी दिए ।

बाँझो बारी नजिकैको झाँडीमा प्लास्टिकको ग्रिनेड फेला परेको एसपी चन्दले बताए । उनका अनुसार नेपाली सेनाले उक्त ग्रिनेड डिस्पोज गर्ने तयारी गरिरहेको छ । पुरानो जस्तो देखिने उक्त ग्रिनेडका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 पाल्पामा बेला बेलामा विभिन्न स्थानमा बम र तिनमा प्रयोग हुने सामानहरु भेटिने र सेनाले डिपोज गर्ने गरिरहेको छ । गत वर्ष पनि तानसेनस्थित जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएका थिए । नेपाली सेनाको जग्गा रहेको ठाउँमा घडेरी खन्ने क्रममा पुराना तोपका गोला फेला परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update