Shittalpati
६ महिनामा नेपालले भारतलाई बेच्यो १३ अर्ब बढीको विजुली

पाल्पा, पछिल्लो समय नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ । विगतमा ठूलो मात्रमा विजुली आयात गर्दै आएको नेपालले पछिल्लो केही समय यता भने ठूलो मात्रमा निर्यात गर्न थालेको छ । लामो  समयको प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेसँगै नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको हो । दुई वर्ष अघिसम्म नेपालले फाटफुट रुपमा मात्रै भारतमा बिजुली पठाउने गथ्यो । भारतबाट आउने विद्युतको तुलनामा जाने परिमाण नगण्य नै थियो । तर अहिले भने उत्पादन बढाएर भारतबाट ल्याउने भन्दा पनि पठाउने काममा नेपालले सफलता प्राप्त गरेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत भारतलाई बेचेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाखको विद्युत मात्र आयात भएको छ । यसबाट के प्रष्ट हुन्छ भने नेपालले विद्युत निर्यातमा फड्को मार्दै गएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । नेपालले विशेष गरी वर्षायाममा अत्याधिक विद्युत उत्पादन गर्दै भारत निर्यात गर्ने गर्दछ । सुख्खायाममा भने भारतबाटै विद्युत ल्याउनुपर्ने बाध्यता नेपाललाई रहेको छ । सो अवधिमा नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरुको विद्युत उत्पादन घट्न पुग्दा आन्तरिक माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्दछ । तर विगतमा जस्तो ठूलो परिमाणमा भने विजुली ल्याउनु परेको छैन ।  नेपालले वर्षायाममा बढी भन्दा बढी विजुली उत्पादन गरी निर्यात गर्दै आएको छ । प्राधिकरणले ६ महिनाको अवधिमा  विजुली विक्रीबाट १५ अर्ब ३६ करोड ६ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा  १० अर्ब ९१ करोड ६० लाख थियो । गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा चार अर्ब ४४ करोड ४६ लाखले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड थियो । विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत उपलब्ध गराउने गरी नेपालले काम अगाडि बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update