Shittalpati
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र

पाल्पा, गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।

मन्त्रालयले मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिलाई आइतबार पत्राचार गरी छलफलका लागि आउन आग्रह गरेको छ । उसले मिटरब्याज पीडितहरुले गरिरहेको पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रमबारे जानकारी रहेको र ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि मन्त्रालयमा आउन भनेको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत मौसम ढुँगेलले हस्ताक्षर गरेको पत्रमा मिटरब्याज पीडितको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ । ‘मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि यस मन्त्रालयमा विभिन्न मितिमा छलफल भएकै छन् । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन, अधिकार सम्पन्न आयोग गठन, आयोगको कार्यकाल समाप्त भई विघटन भएपश्चात उजुरी फछ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप समेत गराउने र सहमति नभएका विषयमा कानून बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारीले सो को अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्रालयले संघर्ष समितिलाई पत्राचार गर्दै भनेको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि उपस्थित हुन मन्त्रालयले समितिलाई आग्रह
गरेको छ ।

 २५ दिनको पैदलयात्रापछि काठमाडौंमा संघर्षरत मिटरब्याज पीडितहरु शुक्रबारदेखि न्यायको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए । गत चैतमा ११ दिन पैदल हिँडेर राजधानी पुगेका मिटरब्याज पीडितलाई सरकारले न्याय दिलाउने लिखितम नै गराएर फर्कायो, तर एक वर्षसम्म न्याय नपाएपछि पीडितहरू फेरि सिंहदरबार गुहार्दै  हिँडेर काठमाडौं पुगेका हुन् । सरकारले गतवर्ष गरेको सम्झौता कार्यान्वयन नभएको र मिटरब्याज पीडितलाई न्याय दिन बनेको समितिको प्रतिवेदन बेवास्ता गरेपछि पीडितले पुनः आन्दोलन शुरू गरेका हुन् । मिटरब्याज पीडितले न्यायका लागि पटक–पटक आन्दोलन गरे । सरकारसँग सम्झौता भयो । आयोग पनि बन्यो । तर, पीडितले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update