Shittalpati
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन 

पाल्पा, धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् । विस १९४५ मा स्थापना भएको ढाँडकुटीमा १९६८ मा विधिवत रुपमा नर्मदेश्वर शिवधाम स्थापना गरी नियमित रुपमा पुजा पाठ हुँदै आएको छ । स्वामीले नर्मदेश्वर शिवको दर्शन गरेपछी धार्मिक प्रवचन दिए । 

संसारमा मानिसले सतकर्मको चाहाना गरेमा ईश्वरले सफल बनाउने भएकाले भव्य शिवालयको मन्दिर बनाउन स्वामीले भक्तजनहरुलाई अनुरोध गरे । ऐतिहासिक एवं पुरातात्विक महत्वको ढाँडकुटीमा ५४ फिटको शिव मन्दिर स्थापना गरी सो माथी १०८ किलोको नर्मदेश्वर महादेव शिवलिङ्ग स्थापना गर्नुपर्ने उनले बताए । देखिदा ठूलो र खर्चिलो देखिए पनि भक्तजनमा इच्छाशक्ती जागेमा काम सजिलै सम्पन्न गर्न सकिने स्वामी लोकानन्दले बताए ।  उनले भने ‘भक्तजनहरुले प्रत्येक दिन आफुले खाने अन्न, चिया, खाने पान, गुटका, खैनीमा कटौती गर्नुस्, यसरी नै सजिलै चाहेको रकम संकलन गर्न सकिने र आँटेको काम पुरा गर्न सकिन्छ । ’ 
स्वामीले बाहिर समाजमा रहँदा आ–आफ्नो ढंगले राजनीति गरे पनि मन्दिर भित्र प्रवेश गरेपछि सबैले ईश्वरका भक्त भन्ने भाव राख्न सबैलाई अनुरोध  गरे । उनले भने ‘ बाहिर हुँदा राजनीति गर्नुस् विचार राख्नुस्, आ–आफ्नो काम कर्म गर्नुस् तर मन्दिर भित्र प्रवेश गरेपछी सबैले एक मात्र भाव राख्नुस् हामी इश्वरका भक्त हौं, हामी सबै एक छौं, हामीले  ईश्वरीय ध्यानका लागि सक्दो सहयोग गर्छाै ।’  यस्तो मनोभावनाले काम गरेमा मन्दिर निर्माणको लागी चाहिने आवश्यक सहयोग जुट्ने लोकानन्द स्वामीले बताए । 

स्थानीय समाजसेवी बाबुराम बोहोराको अगुवाईमा धार्मिक गुरु लोकानन्दलाई ढाँडकुटी शिवधाममा दर्शन तथा अवलोकन गराईएको हो । शिवधामको सोही क्षेत्रमा ३५ रोपनी र प्रभासमा १३ रोपनी गुठी जग्गा रहेको छ । मन्दिर व्यवस्थापन समितिले स्थानीयस्तरमा चन्दा रकम उठाएर १०८ शिवलिङ्ग स्थापना गर्ने तयारीमा जुटेको छ । मन्दिर दर्शन, अवलोकन तथा प्रवचन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बोहोराको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update