Shittalpati
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु  : पाल्पा प्रहरी प्रमुख चन्द 

पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले हालसम्म टुंगो नलागेका फाइलहरु  खोलेर अनुसन्धान अगााडि बढाउने बताएका छन् ।  किशोर न्यौपाने अपहरणदेखी केही घटनाहरु अहिले पनि अन्योलको अवस्थामा रहेकोमा वार–पार नभएका फाइलहरुको अनुसन्धान शुरु गर्ने प्रहरी उपरीक्षक चन्दले सार्वजनिक गरेका हुन । 

भर्खरै साईवर व्युरो कार्यालय काठमाडौबाट पाल्पा सरुवा भई आएका एसपी चन्दले प्रहरी भनेको कानुन कार्यान्यवन गर्ने संस्था हो, कसैलाई अन्याय नहुने गरी कानुन कार्यान्वयन हुनेमा ढुक्क हुन पाल्पाली जनतालाई अनुरोध गरे । हरेक काम गर्दा नागरीकमैत्री, भएर काम गर्ने, बढ्दो आत्महत्याका घटनाहरु नियन्त्रणको लागि सचेतना अभियाना सञ्चालन गर्ने, दुर्घटना न्युनिकरणको लागि सबैपक्षसँग समन्वय गरी सचेतना अभियान चलाउने पाल्पा प्रहरी प्रमुख चन्दले बताए । साईवर अपराधमा अहिले नेपालका ठूला –ठूला घटना भएकाले सचेत भएर सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने, डवल भेरीफाई हुने गरी पासवर्ड राख्नु पर्ने उनले बताए । 

कार्यक्रममा पत्रकारहरुले प्रहरीले पैसा कमाउने भन्दा नागरिकहरुको सेवा गर्ने गरी काम गर्नुपर्ने, दुर्घटना  न्युनिकरणका लागि विशेष अभियान चलाउनु पर्ने, राजमार्ग तथा भित्री सडकमा राखिएका निर्माण सामाग्रीहरु हटाउनु पर्ने, टिपरहरुलाई नियम अनुसार अन्य सवारी साधानले जस्तै बराबर लोड बोक्ने बनाउनु पर्ने, गाउँ–गाउँमा अन्धाधुन्द रुपमा खनिएका सडकहरु अनुगमन गरी सवारी साधन चलाउन मिल्ने वा निमल्ने छुट्टाउनु पर्ने, ग्रमीण क्षेत्रको यात्रुभाडा दर मिलाउनु पर्ने, प्रहरी संग भएका कुराकानीहरुको गोप्यता हुनुपर्ने, दिनहुँ बढ्दै गएका चोरीका घटनाहरु नियन्त्रण हुनुपर्ने, विना लाइसेन्स उमेर नपुगी चलाएका सवारी चालकहरुलाई नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने, प्रहरीले लुकेर भन्दा सबैले देख्ने ठाउँबाट चेकजाँच गर्नुपर्ने, सिमा नाकाका चौकीहरुमा भईरहेका अनियमितताका घटनाहरु रोक्नु पर्ने, प्रहरीले सूचना दिदा समयमै दिनुपर्ने, निजी सवारीबाट भईरहेको यात्रु तथा मालसमान ओसारपसार रोक्नु पर्ने लगाएका सुझाव दिएका थिए ।  

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पुर्व अध्यक्ष भगवान भण्डारी पत्रकारहरु माधब अर्याल, भोजराज भट्टराई, बिजय बौडेल, मुक्ती न्यौपाने, मिलन विश्वकर्मा, रामचन्द्र रायमझी, सुनिल कार्की किरण कौशल लगायतले आ–आफ्नो सुझाव राखेका थिए । प्रहरी नायव उपरिक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले आएका सुझावहरु कार्यान्वयमा प्रतिवद्धता भएर पाल्पा प्रहरी लाग्ने बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update