Shittalpati
प्रजातन्त्र दिवस, देशभर मनाइँदै

पाल्पा, आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । सरकारले फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पुर्‍याउन फागुन ६ गतेदेखि नै विविध कार्यक्रम आयोजना गर्दै आएको छ । सरकारले भोलिसम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा प्रजातन्त्र दिवस मनाउने छ । दिवसका अवसरमा सोमबार सरकारले सार्वजनिक विदा समेत दिएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको हो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।  

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर–घरमा दीप प्रज्ज्वलन गरिनेछ । सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रदेशबासीलाई  यस अघि नै अनुरोध गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update