Shittalpati
आज निर्वाचन दिवस मनाइँदै

पाल्पा, आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा  पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।

नेपालले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको पाइन्छ । आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छ । आयोगसँग निर्वाचन व्यवस्थापनका साढे ६ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ । आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ । पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक विसं २०७३ देखि फागुन ७ गते भव्यताका साथ दिवस मनाउने तयारी गरेको थियो । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद जस्ता कार्यक्रम तय गरेको जनाएको छ । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update