Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण  

पाल्पा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल –२ पत्रिका लोकार्पण गरेको छ ।  त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले क्याम्पसद्वारा प्रकाशित जनरलको लोकापर्ण गरेका हुन् । पत्रिका लोकार्पण  गर्र्दै डा. बस्यालले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसलाई पश्चिम क्षेत्रकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय भन्दा जेठो पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस भएकाले राम्रा–राम्रा विषयहरुलाई क्याम्पसमा पठन–पाठन गराएर इतिहास तथा गरिमालाई जोगाउन आफ्नो पहल रहने रजिष्टार डा. बस्यालले बताए । पाल्पाबाट सिकेको काम कर्तव्य तथा अनुशासन र इमानदारिताका कारण विश्वविधालयको रजिष्टार पदसम्म पुग्न सफल भएको उनले बताए । त्रिभुवन विश्वविद्यालयको परीक्षा सुधारको पाटोलाई पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको डा. बस्यालको भनाई छ । अनुसन्धान विनाको प्राध्यापनले विश्वविद्यालयमा काम नगर्ने भएकाले  विश्वविद्यालयले ग्रेडिङ गरेर अगाडि बढ्नुपर्ने उनले बताए । डा. बस्यालले नीतिगत सहित भौतिक संरचना सुधारदेखी विश्वमा विक्ने शिक्षालाई नै अबका दिनमा विश्वविधालयले प्राथमिकतामा राखेर काम गर्नेमा जोड दिए । 

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख  चोलेश्वर शर्माले २०४७ सालदेखि २०५९ सालसम्म सहकर्मीका रूपमा काम गरेकोमा  त्रिविको रजिस्ट्रारमा  पुगेकोमा पाल्पा क्याम्पस परिवार नै खुसी भएको बताए । उनले विश्वविद्यालयको पहिचान कक्षाकोठाको पठन–पाठनका विषयबस्तु मुलक अनुसन्धान जस्ता कार्यसँगै क्याम्पसमा आधारित रहेर  पत्रिकाहरू प्रकाशन गरेकोमा  क्याम्पस परिवारलाई बधाई दिए ।

कार्यक्रममा क्याम्पस स्ववियुका सभापति कृष्ण अर्यालले प्राध्यापक तथा कर्मचारीका कमिका कारण क्याम्पसले झेल्नुपरेको समस्याको बारेमा चर्चा गरे । अबका दिनमा सही निती र कार्ययोजनाबाट  क्याम्पसमा सुधार आउने विश्वास लिएको स्ववियु सभापति अर्यालले बताए । तानसेन बहुमुखी क्याम्पस पाल्पाका  क्याम्पस प्रमुख पुष्करराज रेग्मीले पाल्पाको उच्चशिक्षाका बारेमा त्रिभुवन बहुमुखी क्याम्पसले नेतृत्व गर्नुपर्ने सुझाव दिए ।

साहित्यकार राजेन्द्रगोपाल सिंहले पत्रिका प्रकाशनले त्रिभुवन बहुमुखी क्याम्पसका गतिविधी सक्रिय बनाउन सहयोग पुग्ने बताउदै क्याम्पसलाई माथी उठाउन सबै पक्षले आ–आफ्नो स्वार्थ त्यागेर काम गर्नुपर्नेमा जोड दिए ।  त्रिवि कर्मचारी संघका अध्यक्ष डुकुलराज ढकालले दरबन्दी अनुसार कर्मचारी नहुँदा काम गर्न समस्या परेको बताए । त्रिवि प्राध्यापक संघ एकाइ समितिका सभापति खिमबहादुर रानाले त्रिभुवन जर्नलको प्रकाशन  राम्रो भएको र  त्रिभुवन विश्वविद्यालयको बेथितिलाई निर्मम भएर सुधार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरेले  जनरल २ माथी टिप्पणी गरेका थिए । कार्यक्रममा जर्नल प्रकाशनमा  सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियोे । कार्यक्रममा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले क्याम्पसमा अब्बल पठन–पाठन भईरहेको र विद्यार्थीको अवस्था पनि सन्तोषजनक रहेको बताए । उनले  क्याम्पसले झेल्नुपरेका समस्या र समाधानका लागि केन्द्रबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख भट्टराईको अध्यक्षता, सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीको स्वागत , अर्का सहायक क्याम्पस प्रमुख डा. रामनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम  भएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update