Shittalpati
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान

पाल्पा,  जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप  दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको  छ । घाइते विरामीहरुको शल्यक्रिया तथा उपचारको लागि रगतको आवश्यकता परेपछी नेपाल रेडक्रस सोसाईटी पाल्पाले रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो । 

सामाजिक सञ्जालमा सूचना राखी रेडक्रस पाल्पाले जिल्ला प्रशासन कार्यालय अगााडि रक्तदान कार्यक्रम गरेको हो । लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोग, रेडक्रस पाल्पाका पदाधिकारी, कर्मचारी तथा  श्रीनगर युवा रेडक्रस सर्कलका युवाहरुको सहभागितामा रगत संकलन कार्यक्रम गरिएको थियो । 

रगत संकलन कार्यक्रममा स्वतस्फुर्त रुपमा युवाहरुको सहभागीता रहेको थियो । रेडक्रसले सञ्चालन गरेको आपत्कालिन रगत संकलन कार्यक्रमबाट ३७ युनिट रगत संकलन भएको रेडक्रस पाल्पा शाखाका अधिकृत विनोद भारतीले बताए । दुर्घटनामा अत्याधिक रगत बगेका विरामीहरु तथा शल्यक्रिया गर्नुपर्ने विरामीहरुको लागि सामाजिक सञ्जालमार्फत रगत आवश्यकताको सूचना पोष्ट गरिएको थियो । तत्कालै विरामीहरुको लागि आवश्यक रगतको जो हो गर्न अस्पतालमै पुगेर, प्रहरी, सर्वसाधारण तथा आफन्त गरी २७ जनाले रक्तदान गरेका छन् । 

घाईतेहरुलाई जुनसुकै समयमा पनि रगतको आवश्यकता पर्ने भएकाले रेडक्रस पाल्पाले सबैपक्षलाई परिचालन गरी आपत्कालीन रक्तदान कार्यक्रम सञ्चालन गरेर जीवन बचाउने काममा लागेको रेडक्रसका  जिल्ला सभापति बाबुराम कार्कीले बताए । डुम्रेबाट तिनाउ गाउँपालिका – ६ चिदिस शिखरडाँडा जादै गरेको  लु १ ज २३७१ नम्वरको यात्रुवाहक जिपमा मंगलबार बेलुका ५ बजेति दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका थिए । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।  


 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update