Shittalpati
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल 

पाल्पा, सहाराविहीन अवस्थामा रहेका बालबालिका र बेसहारा एवं मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले नयाँ जीवन प्रदान गर्दै आएको छ ।  अभियान नेपालले सिलोम आवासीय बालगृह र नव जीवन मानसिक पुर्नस्थापना केन्द्र सञ्चालन गरी सहाराविहीनलाई नयाँ जीवन प्रदान गर्दै आएको हो । 

संस्थाले २१ बर्ष देखी आवासीय बालगृह र ११ बर्ष देखी मानसिक पुर्नस्थापना केन्द्र सञ्चालन गर्दै आएको छ । उसले  १० औ साधारणसभा गरी बर्षभरी गरेका काम गतिविधी आम्दानी खर्च सार्वजनिक गरेको छ  । साधारणसभाको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले शुभारम्भ गर्दै सरकारले गर्ने काम एउटा संस्थाबाट भएकोमा खुसी व्यक्त गरे । संस्थाले लामो समयदेखी बेसहारा अवस्थामा रहेका बालबालिकाहरुलाई पालनपोषणदेखी विद्यालय, क्याम्पस स्तरसम्म पठन–पाठन गराई समाजमा उदाहरणीय काम गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी काफ्लेले  विभिन्न संघ संस्थाको सहयोग तथा विभिन्न व्यक्तिहरुबाट संकलित चन्दाबाट सञ्चालन भएको अभियान नेपाललाई सरकारी तवरबाट सहयोग पुर्ण रुपमा रहने प्रजिअ काफ्लेले प्रतिवद्धता जनाए । 

तानसेन नगरपालिका – १ वडा अध्यक्ष सुनिल कुमार बस्यालले बेसहारा बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना गर्ने काम निकै चुनौतीपुर्ण रहेको अवस्थामा  अभियान नेपाललाई आवश्यक सहयोग गर्नेदेखी आइपर्ने जटिलतामा सहयोग गर्दै आएको बताए ।  कार्यक्रममा युनाइेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारक, तानसेन नर्सिङ्ग स्कुलकी प्रिन्सिपल सकुन्तला थाञ्जु, नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यक्रम अधिकृत विनोद भारती, नेपाल ईसाई समाज पाल्पाका अध्यक्ष राजकुमार थापा, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य कृष्ण पोखरेल लगायतले संस्थाले गरेको पुण्य कामलाई सबैपक्षबाट सक्दो सहयोग गरेर सबै मानवलाई बाच्न पाउने अधिकार सुनिश्चत गर्न सबैको सहयोग आवश्यक रहेको बताए । साधारणसभामा संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठले बार्षिक गतिविधी प्रस्तुत गर्दै बेसहारा बालबलिका  र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको हेरचाह, पालन पोषण, शिक्षा दिक्षा दिन संस्थालाई आर्थिक अवस्थाको कारण समस्या थपिदै गएको पिडा प्रस्तुत गरेका थिए । अस्पतालमा बेवारिसे अवस्थामा विरामी भएका मानसिक अवस्था गुमाएका, सडक क्षेत्रमा घुमफिर गर्ने जस्ता व्यक्तिहरुलाई अभियान नेपालले मिसन अस्पतालमा उपचार गरी, पुर्नस्थापना केन्द्रमा स्थानान्तरण गरेर, साधारण रुपमा मानविय जीवनमा फर्काएर परिवार पत्ता लागेसम्म परिवारमा स्थानान्तरण गर्दै आएको छ । 

साधारण सभामा अध्यक्ष श्रेष्ठले गत आ.व.मा बालगृहमा ३३ लाख ९७ हजार ६ सय ३८ रुपैया र पुर्नस्थापना केन्द्रमा २७ लाख ८८ हजार ७ सय ५ खर्च भएको जानकारी दिए । पुर्नस्थापना केन्द्रमा रहेका व्यक्तिहरुले आफै उत्पादन गरी दुध र तरकारी विक्रीबाट ५ लाख ४३ हजार २ सय २०  आम्दानी गरेको र अन्य रकम स्वदेश तथा विदेशी व्यक्ति संघ संस्थाबाट आएको सहयोगबाट खर्च व्यबस्थापन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले सिलोम आवासीय बालगृहमा २४ जना बालबालिका रहेका छन् । जसमा २२ जना विद्यालय जाने र २ जना पूर्ण अपाङ्ग बालिका छन् ।  मानसिक पुर्नस्थापना केन्द्रमा ९ जना व्यक्तिहरु रहेकोमा ७ जना सहयोगीको भरमा र २ जनामा जटिल खालको मानसिक रोगी रहेका छन्  । बालगृह र पुर्नस्थापना केन्द्रमा रहेका व्यक्तिहरुको मिसन अस्पतालबाट मासिक रुपमा मेडिकल चेकजाँच हुँदै आएको छ । बेवारिसे अवस्थामा मानसिक सुन्तुलन गुमाईसकेका व्यक्तिहरुलाई पुर्नस्थापना केन्दमा लामो समयको उपचार तथा परामर्श पछी  अधिकाश व्यक्तिहरुको घरवार तथा परिवार, आफन्तहरु पत्ता लागे पनि स्विकार नगर्दा कठिनाई भएको अध्यक्ष श्रेष्ठले बताए । पुर्नस्थापना केन्द्रबाट हालसम्म ३९ जनालाई उद्धार गरेकोमा  ३ जना भारतीय नागरिक, २ जना नेपाली नागरिकहरुलाई परिवारको जिम्मा लगाएको, २ जनालाई बुटवल मानव सेवा आश्रममा पठाएको, ३ जना पुर्नस्थापना केन्द्र बाटै आफै भागेर वेपत्ताा भएको, ३ जनाको मृत्यु भएको अध्यक्ष श्रेष्ठले बताए । साधारणसभा संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठको  अध्यक्षता, उपाध्यक्ष डिलबहादुर ढुङ्गानाको स्वागत र संस्थाका राजेन्द्र नेपालीको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update