Shittalpati
अलपत्र करिडोर : सरकार मौन

कालीगण्डकी करिकोड नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर—दक्षिण भारतदेखि चीनको कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण तथा स्तरवृद्धिका कामहरु अहिले सुस्त गतिमा छन् । मौसम प्रतिकुल समयमा धेरै काम हुनुपर्नेमा त्यसो भएको छैन । कालीगण्डकी करिडोर निर्माणमा संलग्न निर्माण कम्पनीहरुले सरकारले भूक्तानी समयमा नदिएका कारण काम गर्न गाह्रो भएको आरोप लगाएका छन् । तर सरकार भने मौनता साधेर बसेको छ । गुल्मी र पाल्पा खण्डको काम हिउँद् लाग्नासाथ तिव्र गतिमा हुन्छ भन्ने आभास शुरुमा भएको थियो । तर अहिले कछुवा गतिले गर्दा निर्माणको काम ढीला हुने निश्चित प्रायःछ । गैडाकोट पिपलडाँडा सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेर पनि स्तरवृद्धि र केही स्थानमा पुलनिर्माण नभएका कारण पनि समस्याहरु ज्यूँका त्यूँ छन् । २०७५ सालमा ठेक्का सम्झौता भएको यो खण्डको १ सय ३२ किलोमिटर सडकको ट्रयाक कालोपत्रे गर्ने काममा समेत ढीला र  गुणस्तरहीन कामका विषयमा सरकार मौन छ । यो क्षेत्रमा कालोपत्रे गर्ने कार्य ८० प्रतिशत पुरा भएतापनि विगत तीन महिनादेखि निर्माण कार्यमा भएका ढीला सुस्तिका कारण जनताले गुनासो गर्न थालेका छन् तर सुन्ने निकाय मौन बसेको आभास हुन्छ । ११ मीटर चौडा हुने र त्यस मध्ये ७ मिटर कालोपत्रे दायाँबायाँ एक÷एक मिटर किनारा र एक मीटरको क्षेत्रफलमा नाली निर्माण हुने मापदण्डलाई धेरै ठाउँमा कार्यान्वयन गरिएको छैन ।

पाल्पाको पिपलडाँडादेखि रामपुर हँुदै निस्दी गाउँपालिका, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकलाई जोड्दै गैडाकोट नगरपालिकाको गैडाकोटचोकसम्म चार खण्ड अन्तर्गत रामपुर नगरको भलायटारदेखि पिपलडाँडा, नवलपुरको भारतीपुरदेखि रामपुरको भलायटारसम्म र थामीबेसी हुँदै भारतीपुर, गैडाकोटको बुलिंगदेखि थामीबेसीसम्म भारतीय निर्माण कम्पनीले स्थानीय निर्माण व्यवसायीको सहयोगमा निर्माणको काम समेत गुणस्तरहीन छ । गुणस्तर नाप्ने र जाँच्ने निकाय नै अलमलमा भएका कारण पनि समस्या उत्पन्न भएका हुन् । गौरवको परियोजना हेर्ने पाल्पाको इकाई कार्यालयले पनि यो विषयलाई गम्भीरताका साथ अंगाल्न सकेको छैन । यस्ता समस्याहरु समाधानमा सम्बन्धित निकाय र राजनैतिक दल, जनप्रतिनिधिले दवाव दिनुपर्ने देखिन्छ । समस्यालाई गम्भीरताका साथ लिन नसकेको कारण नाम गौरवको आयोजना, काम कछुवा गतिमा भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update