Shittalpati
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’ 

पाल्पा, जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’ यी प्रश्न हुन्– तानसेनस्थित देववाणी संस्कृत तथा साधारण मावि कक्षा ९ मा अध्ययनरत रोशनी पाण्डेको । तानसेन नगरपालिका–४ की पाण्डेले तानसेनमा आयोजित बालबालिकाहरुको चौतर्फी विकास तथा हकहित संरक्षण कार्यक्रममा सोझै वडा अध्यक्ष हेमन्तराज शाक्यलाई यस्तो प्रश्न गरेकी हुन् ।

बालमैत्री पालिका कहिले बन्छ भन्ने जिज्ञासाको जवाफ दिनै वडा अध्यक्ष शाक्यलाई गाह्रो भो । नहोस् पनि कसरी । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा व्यवस्था गरिए बमोजिम नेपाल सरकारले सबै स्थानीय तहलाई विसं २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । तर पुरानो नगरका रुपमा रहेको तानसेनले अहिलेसम्म बालमैत्री घोषणा गर्न न छलफल चलाएको छ न त कुनै योजना नै बनाएको छ । जसले गर्दा बालिकाको सहजै जवाफ दिन अध्यक्ष शाक्यलाई असहज भएको हो । यद्यपी कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका शाक्यले बालमैत्री नगरपालिका घोषणाको विषयमा हालसम्म कुनै छलफल तथा तयारी नभएकाले यस विषयमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग कुरा राख्ने जवाफ दिए । बालिका पाण्डेले उठाएको कुरा जायज रहेको भन्दै उनले पहिलो चरणमा बालबालिकाको हकहितको लागि नगरपालिकामा बालबालिका शाखा सञ्चालनको लागि नगर प्रमुखसँग अनुरोध गर्ने समेत प्रतिवद्धता जनाए ।     

बालबालिकाहरुको माग, गुनासा तथा उनीहरुको हकहितका बारेमा वडा कार्यालयमा सम्पर्क राख्न समेत वडा अध्यक्ष शाक्यले बालबालिकाहरुलाई अनुरोध गरे । नेपाल सरकारले सबै स्थानीय तहलाई विसं २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाउमा १४, बाल संरक्षणमा १०, बाल विकास र बाल सहभागितामा ६–६ गरी सेवा प्रवाह सम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक उल्लेख गरिएका छन् । निर्दिष्ट सूचकहरू पूरा गरेपश्चात् वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न जिल्ला समन्वय समितिबाट सहमति लिएर वडा समितिको सिफारिसमा कार्यपालिकाको बैठकबाट स्वीकृति लिनुपर्ने, गाउँपालिका तथा नगरपालिकालाई सम्बन्धित प्रदेश मन्त्रालयबाट स्वीकृति लिएर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सकिने प्रावधान छ । तर तानसेन नगर सरकारले अहिलेसम्म कुनै योजना बनाएको छैन । यहाँका बगनासकाली र रम्भा गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भईसकेका छन् भने तिनाउँ गाउँपालिका आगामी २०८३ फागुन भित्र घोषण गर्ने गरी काम शुरु गरेको छ । मखनटोल टोल विकास संस्थाको आयोजना, तानसेन नगरपालिका वडा –४ को आर्थिक सहयोगमा लक्षित कार्यक्रम अन्र्तगत आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी ति बालिकाले तानसेन नगरपालिकाप्रति प्रश्न उठाउँदै जिज्ञासा राखेकी थिइन् । वडा कार्यालयको सहयोगमा संस्थाले विगतका वर्षहरुदेखि नै वडाभित्रका बालबालिकाहरुलाई भेला गरी बार्षिक रुपमा अभिमुखीकरण, हकहित, संरक्षण र चेतना, कानुनी अवस्था, बालअधिकारका विषयमा छलफल, प्रशिक्षण, अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रशिक्षक कृष्ण गहतराजले नेपालमा बालबालिकाको अधिकार, कानुनी अवस्था, बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार, घरपरिवार, टोल छिमेक, समाज तथा विद्यालयमा बाल अधिकार, बाल क्लव गठन, काम कर्तव्य, जिम्मेवारी र अधिकारका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा वडा भित्रका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मोहन कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले वडा कार्यालयले विगतका वर्षहरुदेखि नै बालबालिका केन्द्रित कार्यक्रम गरी जिम्मेवारी बोध गरेको बताए । मखनटोल टोल विकास संस्थाकी निवर्तमान अध्यक्ष प्रमिला कार्कीले आजका बालबालिकाहरु नै भोलिका देश हाक्ने संवाहक भएकाले हरेक गतिविधिमा बालबालिकाहरुको सहभागिता अनिवार्य गर्दै जानुपर्ने बताइन् । मखनटोल विकास संस्थाले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक कल्पना भट्टराईले बताइन् । तालिममा सहभागी बालबालिकाहरुलाई खेलकुद सामग्री सहित प्रमाणपत्र वितरण गरिएको थियो । मखनटोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता, निवर्तमान अध्यक्ष प्रमिला कार्कीको स्वागत, सदस्य कल्पना  भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update