Shittalpati
आकर्षक धार्मिक पर्यटकीय स्थल बन्दै महीपोखरी डाँडा

पाल्पा, विगतमा सम्भावना हुँदा हुँदै ओझेलमा परेको पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित महीपोखरी डाँडा यतिबेला आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । आर्घाखाँचीको सन्धिखर्कस्थित खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरको घण्टा महीपोखरी जंगलमा राखी देवीको पुजाआजा गर्न थालेपछि यहाँ धार्मिक पर्यटकहरुको घुइँचो लाग्न थालेको पाइन्छ । विगतमा छहरा, मेहलढाप, सल्लेधारावासीको रोजाई मात्र बनेको यो डाँडा अहिले सबै क्षेत्र, वर्गका लागि धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित हुन पुगेको हो ।

लामाधामी गर्दै आएका अर्घाखाँची ढाकावनका देवबहादुर नेपालीलाई सुपा देउराली भगवतीदेवी उत्रिएपछि सुपा देउराली मन्दिरमा गई पुजापाठ गर्दै आएका थिए । देवबहादुरलाई नै सुपा देउराली भगवती देवीले मलाई यहाँ अशान्ति भयो, शान्त स्थानमा लैजाउ भनेर दिव्यदर्शन दिएपछि, उनी मन्दिरको घण्टा लिएर सुपादेवीलाई शान्त स्थान खोज्दै हिडेका थिए । लामा नेपाली सुपा देउरालीको घण्टा बोकेर देवीलाई शान्त स्थानमा राख्ने अभियानमा छहरातर्फ आउँदै गर्दा  उनी सवार जिप महीपोखरीमा अचानक रोकिन पुगेको थियो । जिप एक्कासी रोकिन पुगेपछि यात्रुहरुले हल्लाखल्ला गर्न थाले । लामा देवबहादुर भने हल्लिदै  मेरा लागि यही जंगल उपयुक्त स्थान छ, म यही बस्छु भनि बके पछि त्यहाँ घण्टा राखेर पुजाआजा गर्न थालिएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नलबहादुर रानाले बताए । उनका अनुसार पुस २३ ,२०७९ देखि यहाँ सुपा देउरालीदेवीको पुजाआजा गर्न थालिएको हो । स्थानीयवासीले सुपा देउराली देवीको वास भएपछि पुजाआजासँगै प्रचार–प्रसार गर्न थालेपछि अहिले महीपोखरी डाँडामा भक्तजनहरुको दैनिक भिड लाग्ने गरेको छ । भक्तजन बढेपछि स्थानीयवासीको अगुवाईमा मन्दिर व्यवस्थापन समिति निर्माण गरी अहिले यहाँ सुपा देउराली मन्दिर निर्माण तथा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । मन्दिर निर्माण, भक्तजनको लागि खानेपानी, शौचालय, देवीको लागि बली चढाउने स्थान, भक्तजनको लागि मन्दिरमा जाने बाटोघाटो निर्माणको काम भइरहेको समितिले जनाएको छ । 

रैनादेवी छहरा गाउँपालिकाले यहाँ मन्दिर निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणको लागि गत वर्ष ३ लाख र चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन समेत  गरेको  छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुवमा विकास गर्ने गरी आगामी दिनमा समेत बजेट विनियोजन गर्दै जाने गाउँपालिकाका अध्यक्ष रुक्मा·त भट्टराईले बताए । मन्दिरलाई थप व्यवस्थित गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पालिकाले योजना बनाउने उपाध्यक्ष युवराज थापाले बताए । महीपोखरी क्षेत्रमा हालै स्थापना गरिएको सुपा देउराली मन्दिरलाई राम्रो बनाउन विगत दुई वर्षदेखि पालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा योजनाबद्ध रुपमा काम गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सीनाले बताए । महीपोखरी सुन्दर, शान्त र मनमोहक  रहेको छ । अहिले देवीको बासस्थानको रुपमा विकास भएकाले पनि सबै मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने स्थानीय रामबहादुर सोमरेले बताए । आउँदो बैशाख महिनामा मन्दिरको निर्माण कार्य पुरा गरी उद्घाटन गर्ने गरी मन्दिर निर्माणको काम भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष टेकराज पोखरेलले बताए । मन्दिर स्थापनासँगै पालिकादेखि देश विदेशबाट सहयोग  जुट्दै गएको छ । सहयोगलाई व्यवस्थित बनाउन बैक खाता खोलेर आम्दानी खर्चलाई व्यवस्थित बनाउँदै लगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए । सुपा देउरालीको मुख्य मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ र शितगंगा नागरपालिका–२ को सिमान खाँचीकोटमा रहेको छ । सुपा देउरालीको मन्दिर वि.स १६०० सालमा खाँचीकोटका राजा विश्वपालले छोरी सुवर्णकुमारीको नाममा निर्माण गरी भगवती देवीको स्थापना गरिएको विभिन्न इतिहासमा उल्लेख छ । सुपा देउरालीको दर्शन गर्न दैनिक हजारौ भक्तजन पुग्ने र वार्षिक एक करोडको हाराहारीमा दानभेटी रकम संकलन हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update