Shittalpati
पाल्पामा नेपाल भाषाका बारेमा बहस

पाल्पा, पाल्पा साहित्य समाज तानसेन पाल्पाले नेपाल भाषा साहित्यको विकास तथा नेवारी साँस्कृतिक कार्यक्रमका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पामा नेपाल भाषाको पछिल्लो अवस्था बारे बहस शुरु गरेको छ । लामो खोज र अनुसन्धान गरी समाजका संरक्षक राजेन्द्रगोपाल सिंह र अध्यक्ष पुष्कर अथक रेग्मीले तयार गरेको नेपाल भाषा साहित्यको विकास अवधारणा पत्र तानसेनका नगर प्रमुख सहित बुद्धिजिवीहरु माझ प्रस्तुत गरिएको हो । 

अवधारण पत्र प्रस्तुत गर्दै समाजका अध्यक्ष रेग्मीले नेपाल भाषा साहित्यको शुरुवात, पाल्पामा नेवारहरुको आगमन, पाल्पा तानसेनमा नेवारहरुको भाषा, संस्कृति र साहित्यको विकास, पाल्पामा नेपाल भाषा साहित्यको बारेमा योगदान गर्ने व्यक्तिहरुको बारेमा विस्तृत रुपमा जानकारी दिए । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिका नेवारी कला संस्कृति भेषभुषा भाषाको धनी भएकोले सबै पक्ष मिलेर नेपाल भाषालाई माथि उठाउन सकिने बताए । तानसेन नगरपालिकाको कार्यालयमा आगामी दिनमा सरकारी कामकाजीको रुपमा नेपालीसंगै, नेवारी र मगरी भाषालाई पनि मान्यता दिने गरी तयारीमा जुटेको बताए । तानसेन र पाल्पाका आदिवासी को–को हुन् भनेर पहिचान गर्न पनि नगरपालिका लागेको नगर प्रमुख श्रेष्ठले बताए ।
 कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले मानिसको मुख्य पहिचान भनेकै आफ्नो भाषा, कला संस्कृति भएकोले ठाउँ अनुसारका भाषाहरुलाई जोगाउन सबैपक्ष सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा बौद्ध विद्धान छत्रराज शाक्यले नेपालको पहिचान भनेकै नेपाल भाषा, नेपालले संयुक्त राष्ट्र संघमा पेश गरेको मुख्य भाषा नै नेपाल भाषा भएकोले नेपालीसंगै नेपाल भाषालाई समानान्तर रुपमा लैजानुपर्नेमा जोड दिए । बरिष्ट पत्रकार मेघराज शर्माले नेपाल भाषा लिपिवद्ध गर्नुपर्ने बताए । कार्यक्रममा पासा खल पाल्पाका अध्यक्ष देवेन्द्रराज शाक्यले नेपाल भाषासंगै नेपाल संम्वतलाई राज्य तहबाट कार्यान्वयन हुनुपर्नेमा जोड दिए । विक्रम संवत भारतीय संम्वत भएकोले नेपाल संम्वतलाई प्रयोगमा ल्याउनुपर्नेमा उनले बताए । पत्रकार माधव अर्यालले नेपाल भाषाको बारेमा पत्रकारहरुलाई प्रशिक्षण गरी आमजनमासमा लैजानुपर्ने बताए । तानसेन नगरपालिका वडा ६ का वडा अध्यक्ष सागरमान महर्जन, तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगलप्रसाद बज्राचार्य, साहित्यकार रोहित शर्मा तानसेनमा नेवारी कला संस्कृति, भेषभुषा र भाषाको अवस्था कमजोर हँुदै गएकोले स्थानीय सरकारसंगै अगुवाहरु क्रियाशिल भई जर्गेना गर्नुपर्ने बताए । 

नेपाल भाषा साहित्य कला संस्कृतिमा काठमाडौं पछि दोस्रो मानिएको तानसेन नेवारी भाषा कला संस्कृति नै लोप हुने अवस्थामा पुगेपछि पाल्पा साहित्य समाजले अवधारणा पत्र प्रस्तुत गरेर सामाजिक अगुवा, स्थानीय सरकार, नेवारी अगुवाहरुलाई ब्युझाएको कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा नेवारी भाषामा भजन तथा गीत संगीत प्रस्तुत गरिएको थियो । समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सविता भट्टराईले गरेकी थिइन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update