Shittalpati
संकटमा मुलुक

मुलुकको वर्तमान अवस्थाप्रति राजनेता र राजनैतिक दलहरु अझै पनि अन्यौलमै छन् । उनीहरु लोकतन्त्र जनताको सम्पत्ति हो भन्ने सोंचलाई वास्तविकतामा परिणत गर्ने सोंचमा देखिदैनन् । समस्या थपिदै छन्, निराशा मौलाइरहेको वर्तमान परिस्थिति प्रति लोकतन्त्रका हिमायति भनिएका ठुला र पुराना दलहरु चिन्तित भएका छैनन् । उनीहरुले राम्रोसंग बुझिसकेका छन् कि उनीहरु प्रति नयाँ पुस्ताको हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यति हुँदा पनि लोकतन्त्रलाई संस्थागत गर्ने तर्फ कुनै पनि नयाँ र समयानुकुल परिवर्तनको अवस्था प्रति कुनै तहले पनि बुझिरहेको छैन । युवाहरुका इच्छा र आकाङ्क्षाहरु धेरै छन्, तर कार्यान्वयन गर्न सकिने अवस्था कमजोर छ । हामीसंग उपलब्ध श्रोत र साधनको प्रयोग गरेर अगाडि बढ्दै गर्दा कहीकतै पनि युवाहरुका चाहना पुरा गर्न सकिने अवस्था देखिएनन् । त्यसकारण आमजनताका चहाना र आवश्यकतालाई जतिसक्दो छिटो र सकेसम्म उनीहरुका न्यूनतम आवश्यकता परिपूर्ति गर्ने कार्यलाई व्यवहारिक रुपमा अगाडि नबढाएसम्म खाली गफ र भाषणले मात्रै देश चल्दैन । आर्थिक समृद्धिका कुरा गर्दा स्वरोजगारीताको विकासमा जोड दिनुपर्नेमा त्यसो हुन सकेको छैन । सरकारका नीति र कार्यक्रमहरुले युवा, महिला, सीमान्तकृत समुदाय र सम्भ्रान्त समुदाय सबैको एकै साथ प्रतिनिधित्व गर्न जरुरी छ । त्यसो भयो भने मात्र देशले असल जनशक्ति प्राप्त गर्न सक्छ र मुलुक सम्वृद्धिको बाटोमा अगाडि बढ्न सक्छ ।

अहिले यी र यस्तै खालका विविध समस्याले मुलुक अत्यान्तै संकटपूर्ण रुपमा गुज्रिरहेको छ । नेता र कार्यकर्ताका कुरा जनताले सुन्ने भन्दा पनि सुनेर नसुने जस्तो व्यवहार गरिरहेका छन् । उनीहरु सबैको आरोप छ कि नेताहरु इमानदार भएनन्, जनताका जल्दाबल्दा समस्याको समाधान भन्दा पनि भ्रष्टाचार र गलत नीतिका कारण मुलुकलाई संकटमा पार्ने काम भयो भन्ने आरोपको सामना गर्ने कार्यमा हरेक नेता र दलहरुले आ–आफ्ना मार्ग दर्शन बनाएनन् भने मुलुक संकटमुक्त भन्दा पनि लोकतन्त्र खतरामा पर्छ र मुलुक संकटको दलदलमा फस्ने बाहेक केही पनि हुन सक्दैन । त्यसकारण सबैले सबैका लागि, नेताले देश र जनताका लागि, नीतिले असल लोकतन्त्रका लागि गम्भीर भएर सोच्नै पर्नेहुन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update