Shittalpati
उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित

पाल्पा, तानसेन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक नारायणी शर्माको ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित भएको छ । लेखक शर्माले बाबा बुद्धिनाथ आचार्यको स्मृतिमा समर्पित खण्डकाव्यको रुपमा ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित गरेकी हुन् ।

पिताको स्मृतिमा तयार पारिएको शोककाव्य भित्र १३ वटा उच्छ्वास् र १ सय ४२ वटा श्लोकहरु संग्रहीत रहेका छन् । अध्ययन र साहित्य सिर्जनामा सक्रिय शर्माको खण्डकाव्यमा शिखरिणी, मन्दाक्रान्त र शार्दूलबिक्रिडित छन्दमा लेखिएका श्लोकहरु करुणा र शान्त रसमय रहेका छन् । यस संग्रहमा शुरुदेखि अन्त्यसम्म आख्यानात्मक कलाको सुन्दर काव्यिता संयोजन रहेको छ । पितृ वियोगको गहिरो पीडा वेदनाका कारण खण्डकाव्य रचना गरेको लेखक शर्माको भनाई छ । उनले भनिन् ‘यस अघि छिट्टफुट्टरुपमा म आफ्नै सिर्जनामा कविता वाचन गर्दै आए पनि अचानक पिताको निधनभएपछि उहाँको सम्झना र मायाले सताएपछि शोककाव्य लेख्न आँट आएको हो ।’ शोकको घडीमा जरिरहेको हृदयको डाहालाई शान्त पार्ने र हृदय भित्रको वह पोख्ने काम खण्डकाव्यमा भएको लेखक शर्माले एनजेडीसँगको कुराकानीमा बताइन् । संग्रहमा जीवनको एकदेशीय यथार्थ अभिव्यञ्जित भएका कथावस्तु वा कथानक,मानवीय पात्रको रुपमा बाबा र परिवाजनका साथै मानवेत्तर पात्राको रुपमा प्रकृतिजन्य विषयवस्तु पात्र वा चरित्रका रुपमा उपस्थित रहेको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले पुस्तकको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । सरल, सहज, छन्दोबद्ध भाषाशैली, सन्दर्भयुक्त वातावरण वा परिवेशसहित समर्पण, स्मरण र प्राप्तिसहितको जीवनदृष्टि वा उद्देश्य लगायतका आधारभूत तत्वहरु शोककाव्यभित्र रहेको साहित्यकार रेग्मीले बताएका छन् । 

 विगत एक दशक भन्दा लामो समयदेखि प्राध्यापन कार्यमा संलग्न रहेकी शर्माले नेपाली समाजमा आएका परिवर्तन, सामाजिक मर्यादा, चालचलन, व्यवहार, सोचाई तथा दृष्टिकोण र तिनका कारण अन्य मानिसमा पर्ने प्रभावलाई नजिकबाट नियाल्दै कवितामार्फत सिर्जनाहरु कोर्दे आएकी छन् । नेपाली साहित्यमा एम.ए. गरेकी उनले शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएकी छन् ।  

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update