Shittalpati
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै

पाल्पा, विश्वभर आज परमाणु हतियारको जोखिम, यसको मानवीय तथा वातावरणीय प्रभाव र आणविक निशस्त्रीकरणको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले परमाणु हतियार निर्मूल दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो ।

सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो । सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्र संघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ ।  परमाणु हतियारले मानव जीवन, वातावरण र भावी पुस्तामाथि गम्भीर असर पार्न सक्ने भएकाले यसको जोखिम न्यूनीकरण तथा अन्ततः पूर्ण उन्मूलनका लागि अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि प्रयास हुँदै आएका छन् । यस दिवसले परमाणु हतियारको प्रयोगबाट हुने विनाशकारी परिणामबारे सचेत गराउँदै विश्व समुदायलाई निशस्त्रीकरण र अन्तर्राष्ट्रिय शान्तिका लागि थप पहल गर्न स्मरण गराउने अवसर प्रदान गर्छ । परमाणु हतियारको सम्भावित प्रयोगबाट ठूलो जनधनको क्षति हुनुका साथै दीर्घकालीन वातावरणीय र मानवीय असर पर्न सक्ने विषयलाई विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले निरन्तर उठाउँदै आएका छन् । त्यसैले परमाणु हतियार नियन्त्रण, अप्रसार र निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइँदै आएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय शान्ति, निशस्त्रीकरण र परमाणु हतियारको अप्रसारका पक्षमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएको छ । परमाणु हतियारमुक्त विश्व निर्माणका लागि राष्ट्रहरूबीच संवाद, विश्वास र सहकार्य आवश्यक रहेको सन्देश यस अवसरमा दिइन्छ । परमाणु हतियार निर्मूल दिवसले विश्व समुदायलाई हतियारको प्रतिस्पर्धाभन्दा शान्ति, सहअस्तित्व र मानव सुरक्षालाई प्राथमिकता दिन तथा परमाणु हतियारको जोखिम घटाउने प्रयासलाई निरन्तरता दिन आह्वान गर्दछ ।

संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् । संसारमा अहिले करिब १४ हजार भन्दा बढी परमाणु हतियार रहेको अनुमान छ । विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस, बेलायत, भारत, इरान, चीन, जापान, कोरिया लगायतका देशमा अझै पनि परमाणु भट्टीहरु सञ्चालनमा रहेका छन् । यसले परमाणु हतियारको त्रास कायमै छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update