Shittalpati
नागरिक सहकारीको दोस्रो अधिवेशन ,  अध्यक्षमा पुनः झमन 

पाल्पा, श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्था तानसेनको अध्यक्षमा पुनः झमनबहादुर राजमगर निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार तानसेनमा भएको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले झमनलाई पुनः अध्यक्षमा चयन गरेको हो । 
यस अघि संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका कारण उनलाई फेरी अध्यक्षको जिम्मेवारी दिइएको छ  । अधिवेशनले  संस्थाको उपाध्यक्षमा पुुरुषोत्तम अर्याल, सचिवमा देवी भट्टराई, कोषाध्यक्षमा शान्ति झेडी थापा, सह– सचिवमा  अमन प्रसाद श्रेष्ठ  रहेको सहकारीका व्यवस्थापक डोलराज अर्यालले बताए । उनका अनुसार सदस्यहरुमा थानबहादुर कुंवर, सुमन पछाई, सरस्वती शर्मा, टंक न्यौपाने, गिरीजा गैरे र हलिदिन मियाँ रहेका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा लोकनाथ अधिकारी चयन भएको व्यवस्थापक अर्यालले बताए । उनका अनुसार शिक्षा र ऋण उपसमितिको सदस्यहरु  समितिको पहिलो बैंठकले चयन गर्ने छ ।  


अधिवेशनको लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सहकारीमार्फत उजाडिदै गएका बस्ती बनाउने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई  आग्रह  गरेका छन् । सांसद रानाले पछिल्लो समय गाउँ बस्तीहरु उजाडिदै गएकाले सहकारीमार्फत हराभरा बनाउन सहकारी अभियान्ताहरुलाई आग्रह गरेका हुन् ।

गाउँमा रोजगारीका अवसर नहुँदा मानिसहरु गाउँ छोडेर शहर र  विदेश पलायन हुँदा वस्तीहरु उजाडिदै गएकाले त्यसलाई रोक्न गाउँमै  उद्यमशीलता र रोजगारका अवसरहरु सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।  सांसद रानाले भने ‘बस्तीहरु उजाडिएका छन्, ती बस्तीलाई कसरी हराभरा बनाउन सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक छ ।’ अब गाउँ–गाउँमा पुगेर महिला तथा युवाहरुलाई उद्यमशीलता र रोजगारसँग जोड्नु अहिलेको टड्कारो  आवश्यकता रहेको उनले बताए ।  सहकारीले नीति र सिद्धान्नमा रहेर उद्यम र रोगजारीका क्षेत्रमा लगानी गर्न सांसद रानाले आग्रह गरे । सहकारीमार्फत उत्पादनका क्षेत्रमा लगानी गरेर गाउँ बस्तीमा उद्यम र  स्वरोजगारका कार्यक्रमहरु गर्न सके  गाउँलाई चहलपहल बनाउन सकिने उनको भनाई छ ।   सांसद रानाले अब बचत र ऋण मात्र प्रदान गर्ने होइन सहकारीले रोजगारी र उद्यमलाई समेत अगाडि बढाउनु अहिलेको आवश्यकता समेत रहको औल्याए ।  उनले  गाउँका युवा र महिलाहरुलाई उत्पादन र उद्यमसँग  जोडेर आत्मनिर्भर बनाउन सकियो भने  मात्र मुलुुकको समृद्धि हुने बताए । सांसद रानाले भने ‘ व्यक्तिको जीवनस्तर सुधार गर्नु अहिलेको आवश्यकता हो, व्यक्तिको अवस्था सुुधार भए मात्र समाज र राष्ट्रको अवस्था सुधार हुन्छ ।’  उनले सहकारी सबैको साझा संस्था भएकाले सहकारीमा आवद्ध सबै व्यक्तिहरुको जिम्मेवारी महत्वपूर्ण हुने धारण व्यक्त गरे । सांसद रानाले  कुनै पनि संस्था दिगो र प्रभावकारी बन्न त्यहाँ रहेका व्यक्तिहरु इमान्दार, पारदर्शी र लोकतान्त्रिक चरित्र भएको हुनुपर्ने बताए ।  

 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पा सभापति  हिमालदत्त श्रेष्ठले सहकारीले शेयर सदस्यहरुलाई उत्पादन र रोजगारसँग जोड्नुुपर्ने बताए । उनले नागरिकहरुलाई आयआर्जनसँग जोडी आत्मनिर्भर बनाउने दिशामा ध्यान  दिन सहकारीलाई आग्रह गरे । सभापति श्रेष्ठले संस्थालाई संस्थागत बनाउने कुरामा सबै सहकारी सञ्चालकहरु एक हुनुपर्नेमा समेत जोड  दिए । उनले भने‘ संस्थामा पद लिनुु ठूलो कुरा होइन, कुशल जिम्मेवारी वहन गर्नु महत्वपूर्ण  हो, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुुरा गरौं ।’  सहकारीका संस्थापक सल्लाहकार झपेन्द्र गहिरेले  विपन्न नागरिकहरुको अवस्थाई मध्यनजर गरी सहकारीको स्थापना गरिएको बताए । उनले ‘ हामीले गाउँ– गाउँमा  पुगेर आम नागरिकको अवस्था बुझ्यौं, जसको हातमा पैसा छैन उनीहरुको हातमा पैसा पुर्‍याएर गर्जो टार्ने उद्देश्य राखेर नागरिक सहकारी खोलेका हौं ।’  जिल्ला बचत तथा ऋण सहकारी संस्था  पाल्पाका अध्यक्ष जगदीश भट्टराईले  छोटो समयमा नागरिक सहकारीले  जिल्लाको वित्तिय क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले केही सहकारीहरुले उद्देश्य बहुउद्देश्यी राख्ने तर काम भने बचतको मात्र गर्ने गरेकाले कोही कतै समस्या उत्पन्न भएकाले त्यसो नगर्न सहकारीहरुलाई आग्रह गरे ।  अध्यक्ष भट्टराईले भने ‘ सहकारी ऐनले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई ३० प्रतिशत बचतको कारोबार गर्ने र ७० प्रतिशत बहुउद्देश्यीय कारोबार गर्ने भनेर स्पष्ट गरेको छ तर त्यसो नगर्दा समस्या आउने गरेको हो ।’ संस्थाका अध्यक्ष झमन बहादुर राजमगरले आर्थिक वर्ष २०८०/०८१ का लागि  कार्यक्रम तथा प्रस्तावहरु  सभामा पेश गरेका थिए । उनले एक सदस्यले सदस्य थप गरी साथी जोडौं कार्यक्रम सञ्चालन गरी सदस्य संख्या ९ सय बनाउने,बचत संकलनमा मौजुदामा २० प्रतिशत वृद्धि गर्ने, कर्मचारी,शेयर सदस्य दुर्घटना विमा सञ्चालन गर्ने,  शेयर सदस्यहरुलाई सहकारी शिक्षा सञ्चालन गर्ने, महिला र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्तावहरु  पेश गरेका थिए । उक्त प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ । कार्यक्रममा सहकारीका सल्लाहकार कृष्ण प्रसाद बस्याल, शेयर सदस्यहरु नन्द न्यौपाने, शम्भु पौड्याल लगायतले अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि सुझाव राखेका  थिए । संस्थाकी कोषाध्यक्ष सुनिता अधिकारीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक महेश श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सहकारीले सोही अवसरमा कर्मचारी र संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।  उसले सहकारीका परिकल्पनाकार वीरबहादुर राना, झपेन्द्र गहिरे, दानबहादुर पछाई, विशचन्द्र खनाल, राधेश्याम ज्ञवाली, विष्णु बमरेल, बेदराम श्रीस, शारदा नेपाल, तेजाब गहतराज, लिलाधर अर्याल, जगदीश भट्टराई, हिमालदत्त श्रेष्ठ,  मुक्तिराम जिसीलाई सम्मान गरेको छ ।

यस्तै सहकारीले कर्मचारीहरुलाई पनि सम्मान गरेको  छ । उसले व्यवस्थापक डोलराज अर्याल, सिर्जना गैरे तिमिल्सीना, धनिश्वरा चिदी, मैना कुमारी सारु लाई सम्मान गरेको हो । २०७६ सालमा स्थापना भएको सहकारीको  आर्थिक वर्ष २०७९/८० मा १५ करोड ८७ लाख ७ हजार ९ सय ६३ बराबरको कारोबार गरेको छ । संस्थाका अध्यक्ष झमनबहादुर राजमगरको अध्यक्षता, उपाध्यक्ष रुक्मागत भट्टराईको स्वागत, सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update