Shittalpati
तानसेनमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम

पाल्पा, तानसेनमा सञ्चालित पाँच दिने स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सकिएको छ । इजी लाईफ मल्टिप्रपोज कम्पनीको आयोजनामा सञ्चालित तालिम  बिहीबार सकिएको हो । तालिमको पाल्पा उद्योग वाणिव्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।

तालिमको समापन गर्दै प्रमुख अतिथि भट्टराईले  युवाहरुको क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण हुने बताए । उनले सफल उद्घोष, भाषण कला र पत्रकारिता अहिलेको आवश्यकता रहेको उल्लेख गर्र्दै त्यस्ता व्यक्ति उत्पादनमा इजी कम्पनीले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गरे । अध्यक्ष भट्टराईले तालिमका सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्न समेत तालिममा सहभागीहरुलाई आग्रह गरे । युवाहरुमा नेतृत्व क्षमताको विकाससँगै निर्धक्क बोल्न सक्ने बानीको विकास गराउनुको साथै पत्रकारिताका बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कम्पनीका अध्यक्ष कमलप्रसाद भट्टराईले बताए । उनले भने ‘युवाहरुमा रहेको अन्तरनिहित क्षमताको प्रस्फुटन गरी स्टेजमा निर्धक्क कार्यक्रम चलाउन सक्ने, सभा समारोहमा खुलेर आफ्ना भनाई राख्न र समाचार लेख्न सक्ने बनाउनु हाम्रो मुख्य लक्ष्य हो ।’ सीप र कलाको विकास गराउनु अहिलेको आवश्यकता रहेको भन्दै यस्ता तालिम आगामी दिनमा समेत सञ्चालन गर्दै जाने अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रमका संयोजक बलबहादुर उचाइले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिम सञ्चालन गरिएको बताए । कार्यक्रममा अनुभव साट्दै महेश नेपाली र बविता विष्टले तालिमले आगामी दिनमा निर्धक्क कार्यक्रम सञ्चालन गर्न, बोल्न र समाचार लेख्न सक्ने भएको बताए । तालिममा सहभागी अर्की प्रशिक्षार्थी रुपा थापाले पनि उद्घोषण र पत्रकारिता सम्बन्धी धेरै कुरा सिक्न पाएकोमा सुखी व्यक्त गरिन् । उनले आफुभित्र रहेको क्षमता पनि अभ्यास नहुँदा भित्रै लुकेर बसेको कुरा तालिम लिएपछि बुझेको बताइन् । तालिम लिएपछि  बोल्न र समाचार लेख्न सक्ने भएको उनको भनाइ छ । तालिममा नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीले पत्रकारिता र समाचार लेखनका बारेमा जानकारी गराएका थिए । उनले पत्रकारिता के हो ? यसको आवश्यकता, समाचार के हो ? कसरी लेखिन्छ ? समाचारका प्रकार, समाचारको स्रोत, समाचारका हेडलाई बनाउने तरिका लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

 यस्तै प्रशिक्षक  तथा  पाल्पा समाचार साप्ताहिकका सम्पादक यज्ञमुर्ति तिमिल्सिना, मिलन विक, सुमन गैरे लगायतले उद्घोषण के हो ?, उद्घोषण कसरी गर्ने ?, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल उद्घोषकमा हुनुपर्ने गुणहरु, उद्घोषणको आवश्यकता, औचित्य, नेतृत्व क्षमता विकास कसरी गर्ने ? जस्ता विषयमा प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र  समेत दिइएको छ । कम्पनीका अध्यक्ष कमल प्रसाद भट्टराईको अध्यक्षता, प्रशिक्षार्थी मिस्मा रानाको स्वागत, प्रशिक्षार्थी अरुणा भट्टराईको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update