Shittalpati
पाल्पा जेसीजको समन्वयमा विद्या मन्दिरमा छाना र ढोका

पाल्पा, पाल्पा जेसीजले जिल्लाको बगनासकाली–१ खोरबारीस्थित बुद्ध शान्ति सामुदायिक विद्या मन्दिरमा छाना र ढोका राख्नका लागि सहयोग गरेको छ । यहाँ छाना र व्यवस्थित ढोका नहुँदा बालबालिकाहरुलाई पठन–पाठनमा समस्या उत्पन्न भएको अवस्थालाई दृष्टिगत गर्दै जेसीजको समन्वयमा छाना (ट्रस) र फलामको ढोका राखिएको हो ।

जेसीजले जर्मन युथ भोलिन्टर डाइक, क्लिन स्ट्रक नेपाल परिवार जर्मनको आर्थिक सहयोगमा मन्दिरमा ढोका र छाना राख्न समन्वय गरेको बताएको छ । वर्ष २०२४ का लागि नयाँ नेतृत्व आएसँगै जेसीजले सामाजिक कार्यलाई तिव्रता दिन थालेको हो । जेसीजका सम्पूर्ण पदाधिकारीहरु सहितको टोली विद्या मन्दिरमै पुगी छाना र ढोका राखिदिएका हुन् । छाना र  व्यवस्थित ढोका नहुँदा चिसो समयमा बालबालिकाहरु अझ बढी प्रभावित हुन सक्ने र पठन–पाठनमा समेत असहज वातावरण सिर्जना भएको थाहा पाएपछि नेपाल जर्मनसँगको सहकार्यमा ३ लाख बराबरको छाना र ढोका राखिदिएको जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले बताए । उनले भने ‘कुनै पनि बालबालिकाहरु भौतिक संरचनाको अभावमा पढाईबाट बञ्चित नहुन भनेर आवश्यक सहयोगका लागि पहल गरेका हौं ।’ विद्या मन्दिर समुदायको मुठी दानबाट चलेकाले पनि भौतिक संरचना निर्माणमा कठिनाइ भएकाले सहयोगका लागि समन्वय गरिएको अध्यक्ष कार्कीको भनाई छ ।

कक्षा कोठाको ट्रस्ट निर्माण र ५ वटा फलामको ढोका बनाइएको कार्यक्रम संयोजक निजमदिन मियाले बताए । त्यहाँ पुगेका पूर्व जेसीजका अध्यक्ष एवम बर्ष २०२४ का सल्लाहकार द्वय मिलनमुनि शाक्य, पुर्णराज शाक्यले विगतमा पनि जेसीजले विद्यालयलाई सहयोग गरेको बताए । विद्यालयका अध्यक्ष चन्दवीर चिदी थापा र प्रधानाध्यापक डोलराज रेश्मीले भौतिक संरचना निर्माणमा जेसीजले खेलेको समन्वयकारी भूमिका प्रति खुसी व्यक्त गर्दै जेसीज र जर्मन युथ भोलिन्टर डाइक नेपाल जर्मनलाई धन्यवाद दिए । जेसीजका महसचिव विजय कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले काम गर्दै आएको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update