Shittalpati
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’

पाल्पा, प्रतिनिधि सभा सदस्य नारायण आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा जल्पामा सञ्चालित ५ दिने महिलाहरुको क्षमता अभिवृद्धि कार्यशालाको समापनलाई सम्बोधन गर्दै सांसद आचार्यले यस्तो बताएका हुन् ।

उनले महिला उद्यमको विकास र विस्तारका लागि स्थानीय, प्रदेश सरकारसँगै संघीय सरकार पनि साथमै रहेको बताए । सांसद आचार्यले महिला एकतामा जोड दिदै आफुलाई पर्ने कुनै पनि समस्याका बारेमा परिवार, छिमेक र समाजमा रहेका दिदीबहिनीहरुसँग छलफल र परामर्शपछि समाधान खोज्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य खेमबहादुर सारुले तालिममा सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गर्दै सीप सिकेर आत्मनिर्भर हुन सके समृद्धि प्राप्त हुने बताए । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले महिलाहरुको उत्थान र व्यवसायमा प्रेरित गर्ने कार्यक्रमलाई गाउँपालिकाले विशेष ध्यान दिएको बताउँदै आर्थिक ब्यवस्थापनका पाटोमा पुरुष भन्दा महिलाहरुको ठूूलो भूमिका रहने बताए । कमाउनु भन्दा जोगाउनु ठूलो कुरा भएको उनको  भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले निर्धक्क भएर बिना संकोच आफ्ना मनका कुराहरु राख्नुपर्नेमा जोड दिदै घर, गाउँ र समाजको विकासका लागि महिला शिक्षा, चेतना र एकताको ठूलो महत्व रहेको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ र स्थानीय शुभसन्देश कृषि सहकारीका अध्यक्ष चन्द्रीसरा रखालले महिलाहरुले भोग्नुपरेको घरेलु तथा सबै प्रकारका हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिदै स्थानीय क्षेत्रमा रहेका विकृति विसंगती हटाउनु पनि आवश्यक रहेको बताए । कार्यशालामा सहभागी ललिता विकले तालिममा सिकेका ब्यवहारिक ज्ञानलाई प्रयोग गर्ने अवसर हुनुपर्ने बताइन् । ५ दिने कार्यशालामा श्रीनगर एफएमका स्टेशन म्यानेजर देब पचभैया, सुपादेउराली खबर अनलाईनका सम्पादक दिपक भट्टराई, पत्रकार अनिल लिगल लगायतले सहजीकरण गरेका थिए । कार्यशालामा मञ्चिय उद्घोषण, भाषण कला, नेतृत्व र व्यक्तित्व विकास,  सकारात्मक साेंच, महिला उद्यमी, घरेलु  तथा महिला हिंसा रोकथामका उपाय, आर्थिक व्यवस्थापन, लगानी र बचत लगाएतका विषयमा सहजीकरण गरिएको संस्थाका अध्यक्ष लिला सारुले बताए । कार्यक्रममा वडाका १३ महिला समुहलाई आफ्ना महत्वपूर्ण कागजात सुरक्षित राख्ने वाकस, आवश्यक स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको जल्पा महिला कल्याण परिवारका सचिव तथा तालिम संयोजक टोलसरी थापा, दर्लामीले जानकारी दिइन् । ७ देखि ११ गते सम्म सञ्चालन भएको तालिममा ४० बढी महिलाहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update