Shittalpati
रिडीमा भक्तजन : माघे संक्रान्तिको पहिलोे दिन घुँइचो, दोस्रो दिन न्यून

पाल्पा, यस वर्षको माघे संक्रान्तिको पहिलो  दिन पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा भक्तजनहरुको घुँइचो लागेको थियो । कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न  डेढ लाखको हाराहारीमा भक्तजनहरुको त्यहाँ पुगेका थिए । दोस्रो दिन मंगलबार भने भक्तजनहरुको सहभागिता न्यून रह्यो । पहिलो दिन डेढ लाखको  संख्यामा झत्तजनहरु रिडी पुगे पनि दोस्रो दिन १० हजार भक्तजनको सहभागिता रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सीनाले जानकारी दिए ।

माघे संक्रान्तिको अवसरमा परम्परादेखी नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माईली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ । यस वर्ष माघ ६ गतेसम्म मेला लाग्ने तिमिल्सीनाले बताए । भक्तजनहरु टाढा–टाढा बाटा कालीगण्डकीमा स्नान गर्ने, हृषिकेशव भगवानको दर्शन गर्नुको साथै मेला अवलोकन गर्न त्यहाँ पुग्ने गर्दछन् ।

माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अञ्जानमा गरेका सम्पुर्ण पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाईन्छ । विगत देखी नै पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्ला लगायत छिमेकी देश भारतबाट समेत रुरु क्षेत्र रिडिमा कालीगण्डकी स्नान गरी भगवानको दर्शन गर्न जाने परम्परा नै रहेको छ । रुरु क्षेत्रधाम नेपालको चार धाम मध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको हृषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए । माघे संक्रान्तिमा रुरु क्षेत्रमा नेपालकै नमुना ३ मुखे पुल विशेष आर्कषण बनेको छ । पाल्पा, गुल्मी र स्याङ्जा ३ वटै जिल्लाबाट पुलमा आवत जावत गर्न सकिन्छ ,जसको कारण ३ वटै जिल्लामा रहेका धार्मिक तिर्थस्थलहरुको भक्तजनहरुले सजिलै अवलोकन गर्न पाएका छन् । रिडीको ३ मुखे पुलमा धार्मिक भक्तजनसंगै फोटो खिच्ने, भिडियो बनाउने युवायुवतीहरुको पनि विशेष भिडभाड रहेको छ । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान, हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागि रुरु क्षेत्रमा आएका छन् । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागि राखिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update