Shittalpati
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की

पाल्पा, मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा  महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।  

अध्यक्ष चयन भएसँगै उनी संस्थाको सातौ अध्यक्ष बनेकी छन् । यस्तै संस्थाको सचिवमा सरस्वती राजभण्डारी, कोषाध्यक्षमा सुचिता शाक्य र सल्लाहकारमा प्रेमबहादुर कुवँर चयन भएका छन् । निवर्तमान अध्यक्ष प्रमिला कार्कीले नव निर्वाचित अध्यक्ष ज्ञानु कार्कीलाई पद तथा माइनट बुक हस्तान्तरण समेत गरेकी छन् । संस्थाकी सदस्य कल्पना भट्टराईको सञ्चालनमा पद हस्तान्तरण कार्यक्रम भएको थियो ।

साधारण सभाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले  तानसेनको विकासमा टोलविकास संस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले तानसेनको विकासको प्राथमिकता तोकी आवधिक योजना निर्माण गरेर नगर सरकार अगाडि बढेको भन्दै त्यसमा टोलविकास संस्थाको समेत सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे । तानसेन विकासको पहिलो आधार पर्यटन, दोस्रो पुरातात्विक तथा धार्मिक महत्वका संरचनाहरुको जर्गेना, संरक्षण, र जिर्णाेद्धार, तेस्रो तानसेनको हावापानी, चौथो शिक्षा, स्वास्थ्यलाई प्रमुख आधार बनाएर काम गर्ने अभियान तानसेन नगरपालिकाले शुरु गरेको नगर प्रमुख श्रेष्ठको भनाई छ । उनले भने ‘नगरपालिका अबको तीन वर्ष, पाँच बर्षमा के–के काम गर्ने ? भनेर योजना निर्माणमा लागेको छ, सोही अनुसार बजेट विनियोजन गर्दै जाने छौं ।’ महिलाहरुको नेतृत्वमा रहेको मखनटोल टोल विकास संस्थाले आफ्नो नामसंगै तानसेन नगरपालिकालाई पनि विश्वमा चिनाउने गरी काम गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताए । घरयासी काम काजबाट महिलाहरुलाई सामाजिक उत्तरदायित्वमा ल्याउने अभियानमा मखनटोल टोल  विकास संस्था लागि परेको समेत उनले बताए । कार्यक्रममा वडा अध्यक्ष हेमन्तराज शाक्यले टोल विकास संस्था तानसेन नगरपालिकामै नमुना संस्थाको रुपमा काम गर्दै आएको बताए । संस्थाले तानसेनमा पर्यटन प्रवद्धन देखी आर्थिक कारोबार समेत बढाउने गरी विभिन्न किसिमका खाना महोत्सव, स्वास्थ्य शिविर गर्दै आएको उनको भनाई छ । 

सभामा सल्लाहकार अजयमान कर्माचार्यले तानसेन नगर साझेदारी कार्यक्रमबाट गठन भएको मखनटोल टोल विकास संस्थाले धेरै पटक सडक खाना महोत्सव, महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रित कार्यक्रम गरी सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरेको बताए । कार्यक्रममा अध्यक्ष कार्कीले छैठौ कार्यकालमा भएका सामाजिक काम तथा गतिविधीहरु प्रस्तुत गरेकी थिईन । संस्थाकी अध्यक्ष प्रमिला कार्किको अध्यक्षता, पूर्व अध्यक्ष प्रविता शाक्यको स्वागत, सचिव ज्ञानु कार्कीको सञ्चालनमा  साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update