Shittalpati
‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’

पाल्पा, पाल्पा लगायत देशभर ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शुक्रबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाइएको हो ।

पाल्पामा जिल्लाका सबै राजनीतिक दलहरुको सक्रिय सहभागितामा दिवस मनाइएको छ । दिवसका अवसरमा तानसेनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा भएको चियापान कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, विभिन्न संघ संस्था, बुद्धिजिवीहरु तथा नागरिक अगुवाहरुको सहभागितामा दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएका छन् । उनीहरुले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्दै अहिले पनि त्यो उपदेश सान्दर्भिक रहेको उल्लेख गरे । सहभागीहरुले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकार सम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन समेतका बहुआयामिक क्षेत्रमा शाहका उपदेश अहिले पनि सान्दर्भिक रहेकोमा जोड दिए । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक महेन्द्र पन्थीले राष्ट्रनिर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्दै उनको उपदेश अहिले पनि सान्दिर्भक रहेको उल्लेख गरे । उनले भने ‘पृथ्वी नारायण शाहको दिव्य उपदेशहरु अहिले पनि परराष्ट्र नीतिमा लागु हँुदै आएको, अर्थनीतिमा समय सापेक्ष रहेको, भष्ट्रचार विरुद्धको अभियानमा घुस लिने दिने दुबै राष्ट्रका शत्रु हुन् भनेर दिएका उपदेश सान्दर्भिक छन् ।’ पन्थीले यी उपदेश  कार्यान्वय भए देश विकासमा छिटो छरितो हुने समेत बताए । शाहले चालेको एकिकरण अभियानकै कारण आज हामी स्वाभिमानी नेपाली भएर बाच्न पाएको बताए । उपप्राध्यापक पन्थीले पृथ्वी नारायण शाहले नेपालको परराष्ट्र नीतिमा उत्तर र दक्षिण छिमेकीसँग सुन्तलित व्यवहार गर्नुपर्ने, नेपाल दुई ढु·ा विचको तरुल हो, खानी भएका गाउँ अन्यत्र सार्नु, खेतीयोग्य जमिनमा घर हटाउनु जस्ता उपदेश सबल अर्थव्यवस्थाको लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । राष्ट्रनिर्माता तथा नेपाल एकताका सुत्रधार पृथ्वी नारायण शाहको योगदान र भूमिका र इतिहासको बारेमा सरकारले नै जिल्ला जिल्लामा कार्यक्रम गरेर मनाउनुपर्ने भएपनि विदा मात्र दिएर जिम्मेबारीबाट पन्छिएको उप–प्राध्यापक पन्थीले बताए ।  

कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य नारायण कोईराला, लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारु, जिल्ला अध्यक्ष डुलबहादुर कुवँर लगायतले पृथ्वीनारायण शाहलाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्ने, उनका उपदेशहरुलाई राज्यले कार्यान्वयन गर्दै जाने, हामी नेपाली हौं भन्नेमा गर्व बोध गराउने अभियानमा सबै पार्टी, जनताहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनीहरुले ईतिहास लेख्ने अधिकाश व्यक्ति गोरा व्यक्ति भएकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई गलत तरिकाबाट व्याख्या गरेर देश भित्र र बाहिर जनतामा भ्रम सिर्जना गर्ने, दुस्प्रचार गर्ने काम भईरहेकोमा चिन्ता व्यक्त गरे । राप्रपा पाल्पाका सचिव हरिप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाह जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वी नारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वी जयन्तीका अवसरमा शुक्रबार सरकारले सार्वजनिक विदा पनि दिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update