Shittalpati
एकता दिवसको औचित्य

अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ । १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए । जसले अहिलेको नेपाल बनेको थियो । यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्ने गर्दछन् । 

आजको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको विगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिइने गरिन्छ । पृथ्वी नारायण शाहालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो । हरेक वर्ष यो दिवस मनाइए पनि एकताको उपहास भएको छ । आज देशभित्रै राजनीतिक दलहरु सत्ताको लडाईमा लागेका छन् । जसका कारण नेपालको राष्ट्रियता धमिलिएको छ भने राष्ट्रको अस्तित्व नै खतरामा परेको छ । यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेको छ । स्वभावतः यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता महसुस गरिनु स्वाभाविक हुन आउँछ । राष्ट्र एक रहोस् भनी कामना गर्नु र त्यसका लागि सतत् प्रयत्न गर्नु हरेक राष्ट्रभक्त नागरिकको कर्तव्य पनि हो । तर त्यसो हुुन सकिरहेको छैन् । जसका कारण राष्ट्रिय एकता दिवसको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ । 

नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायणको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । हिजो पृथ्वी नारायण शाहाले एकीकरण गरेका नेपाली भूमिहरु छिमेकी देशहरुले अतिक्रमण गर्दा समेत नेपालका राजनितिक दलहरु मौन हुनु दुखद् हो । पृथ्वीनारायण शाहकै सन्तान बहादुर शाहले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिएर पश्चिममा सतलज र पूर्वमा टिष्टासम्म पु¥याएका थिए । तर आज त्यो सत्यलाई नेपाली राजनितिक दलहरुले आत्मसात् गर्न सकेका छैनन् । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनु हुँदैन । देशभक्ति पृथ्वी नारायण शाहाको योगदानलाई शिरोधार्य गर्न सकिएन भने एकता दिवस मनाउनुको कुनै औचित्य रहदैन । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update