Shittalpati
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग

पाल्पा, तानसेनका एक आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा आर्थिक सहयोग जुटेको छ ।  तानसेनको बर्तुङ्गमा होटल व्यवसायी गर्दै आएका दुर्गाबहादुर श्रेष्ठलाई संघको पहलमा आरती ग्यास उद्योग प्रालिले आर्थिक सहयोग गरेको हो ।

श्रेष्ठको गत वैशाख १३ गते ग्याँस सिलिण्डरबाट आगलागी हुँदा होटल पूर्ण रुपमा लजेर क्षति पुुगेको थियो । पीडित श्रेष्ठलाई ग्यास डिलर्स संघले पहल गरी आर्थिक सहयोग प्राप्त भएको हो । ग्याँस उद्योगले श्रेष्ठलाई एक लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।  प्राप्त उक्त सहयोग रकम संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेको हो । संघका अध्यक्ष पर्शुराम पौड्याल र ग्यास उद्योगका प्रतिनिधि युवराज सेडाइले उक्त सहयोग रकमको चेक पिडित श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उद्योगले यस अघि ५० हजार र अहिले एक लाख रकम दिएको संघले जनाएको छ । रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष पौड्यालले पीडित परिवारप्रति ग्याँस उद्योगले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । उनले ढिलाई भए पनि पीडितलाई सहयोग गर्न सकिएको धारणा व्यक्त गरे । अध्यक्ष पौड्यालले विविध कारण क्षतिपूर्ति दिन ढिलाई भएको र आगामी दिनमा तत्काल घटनाको निरीक्षण गरी क्षतिपूर्तिको व्यवस्था गरिने समेत बताए ।  

उनले थोत्रा, डेट सकिएका सिलिण्डर पाल्पामा नपठाउन उद्योगलाई आग्रह गरे । हाइड्रोलिक टेस्ट गरेर मात्रै सिलिण्डर बजारमा पठाउन र उद्योगबाटै जनचेतना कार्यक्रम गर्न आवश्यक रहेको पनि औल्याए । कार्यक्रममा निवर्तमान अध्यक्षय राजेन्द्रबहादुर बज्राचार्यले उद्योगहरुले बिमा छ भन्ने तर क्षति पूर्ति दिन आनाकानी गर्ने गरेको बताए । उनले ग्याँस उपभोक्ताहरुलाई यसरी नठग्न आग्रह गर्दै आगामी दिनमा सबै सिलिण्डरको बिमा गरेर मात्र बजार पठाउन आग्रह गरे । रकम ग्रहण गर्दै पीडित श्रेष्ठले ढिलो भएपनि क्षति पूर्ति पाउन सफल भएको भन्दै त्यसका लागि पहल गर्ने संघलाई धन्यवाद दिए । कार्यक्रम संस्थाका अध्यक्ष पर्शुराम पौडयालको अध्यक्षता, सचिव अजयबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update