पाल्पा, हरेक मानिसले पैसा कमाउछ तर त्यो कमाएको पैसामा सामाजिक क्षेत्रमा खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा समाजको लागि महत्वपूर्ण हुन्छ । मानिस जन्मिदा खाली हात र मृत्यु हुँदा पनि खाली हात नै हुन्छ । उसले जति धेरै धनसम्पत्ती कमाए पनि सँगै लिएर जान सक्दैन । जिवित हुँदा कमाएको सम्पति सामाजिक काममा खर्च गरेको छ भने उ मरेर गए पनि उसलाई सबैले सम्झिरहेका हुन्छन् ।
यस्तै नमुना काममा जुटेका छन् लामो समयसम्म दुबईमा रोजगारी गर्दै आएका बगनासकाली गाउँपालिका–२ का पदमबहादुर राना । रानाले बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक अक्षयकोष स्थापनासँगै बालबालिकालाई झोला, कापी कलम वितरण गरेका छन् । कुनै पनि बालबालिका आर्थिक अभावका कारण पढाईबाट बञ्चित हुन नपरोस् भनी रानाले यो अभियान शुरु गरेका हुन् । आर्थिक अभावका कारण आफुले चाहे अनुसारको अध्ययन गर्न नपाएको कारण पनि रानाले शैक्षिक अभियानमा दिल खोलेर सहयोग गरेका हुन् । समाजसेवी रानाले कक्षा ३ देखि कक्षा ६ सम्म अध्ययन गरेको सिद्वि माध्यमिक विद्यालय बगनासकाली–३ आर्यभञ्ज्याङ्गलाई ८ लाख ८८ हजार ८ सय ८८ रकमको अक्षयकोष स्थापना गरेका छन् । रानाले सिद्ध माविमा अहिले सम्मकै ठूलो राशीको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । उनले स्थापना गरेको अक्षयकोषबाट पढ्ने इच्छा भएर पनि आर्थिक अभाव भएर विचैमै पढाई छाड्ने विद्यार्थीको लागि केन्द्रित रहने छ ।
चन्दादाता रानाले अधिकांश कुमाल समुदायका बालबालिकाको अध्ययन गर्ने जनता प्राथमिक विद्यालय बगनासकाली–२ पोखराथोकलाई ५ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरिदिएका छन् । कुमाल समुदायका अशिकाशं बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाइ छाड्ने क्रम अत्याधिक रहेकाले न्युनिकरणको लागि अक्षयकोष स्थापना गरेका हुन् । रानाले विद्यालयका ६० बालबालिकालाई झोला र विद्यालयमा अध्यनरत फरक क्षमताका बालकलाई ५ हजार सहयोग प्रदान गरेका छन् । रानाले बगनासकाली–२ पोखराथोक विष्णु माध्यमिक विद्यालयमा ३ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । यस्तै उनले तानसेन–९ को दमकडा माध्यमिक विद्यालयका दुष्टिविहानलाई भोजन दानासहित १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । बगनासकाली गाउँपालिका–४ खानीछापको हिमाल प्राथमिक विद्यालयमा १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापनासंगै ४० जना विद्यार्थीलाई झोला वितरण पनि उनले गरेका छन् । समाजसेवी रानाले सोही वडाको हिमाल आधारभुत विद्यालयमा ५ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष र विद्यार्थीलाई ७० वटा झोला वितरण गरेका छन् ।
रानाले बगनासकाली गाउँपालिका भरीका वृद्धा–वृद्धलाई लठ्ठी वितरण गर्ने तयारीमा जुटेका छन् । लामो समयदेखि दुवईमा रोजगारी गर्दै आएका रानाले गएको अप्रिल १५ तारिका दिन दुवईमा झण्डै ७२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए । म अहिले निकै खुसी छु, जन्म भूमि प्रति केही सेवा गर्न पाउँदा मेरा हात रमाएका छन् । मनभरी खुसी भरिएको छ । मेरो समय र क्षमता भ्याउदासम्म यहाँको सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने रानाले बताए । आफु सानो छदा आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएकोले रानाले आर्थिक अभावका कारण शिक्षा आर्जन गर्नबाट कोहि पनि बञ्चित नहुने भन्ने हेतुका साथ सामाजिक कार्यलाई अगाडि बढाउदै आएको रानाले बताए । अक्षयकोषदाता रानालाई विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयहरूले विद्यालय विद्यालय फूलमाला अविर तथा पञ्चेबाजाले भव्य स्वागत गरेका छन् । समाजसेवी रानाले आफु जन्मेको, हुर्केको पढेको खेलेको ठाउँमा सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सामाजिक कार्यमा अग्रसर भएको बताएका छन् ।
 


                                        
                                        
                                        
                    
                    
                    