Shittalpati
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत

पाल्पा, ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ । उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध पनि सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दुई जनाको ज्यान गएको थियो ।

युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका छन् भने नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोलीबाट अन्य कैयौं घाइते भएका छन् । गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्ड अनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरू आक्रोशित भएका थिए । सरकारले छानविन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पीएसओ र उपसचिव लगायतका कर्मचारीलाई निलम्बन गरेको  छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update