Shittalpati
तम्घासमा खाद्यको शाखा कार्यालय

तम्घास, गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय  सञ्चालनमा ल्याइएको छ । मुल्य अनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितताका लागि जिल्लाको रेसुङ्गा नगरपालिकास्थित तम्घासमा  खाद्यको शाखा सञ्चालनमा ल्याइएको हो ।

रेसुङ्गा नगरपालिकाको पहलमा जिल्लामा शाखा कार्यालय स्थापना हुन सफल भएको छ ।  नगरपालिकाले गत असारमा जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा मङ्सिरदेखि कार्यालय स्थापना गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उक्त कार्यालयले नागरिकलाई खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, रैथाने बाली प्रवद्र्धन एवं बजार सुनिश्चितता गर्ने, खाद्यान्न आपूर्ति गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने लगायत काम गर्ने छ । सदरमुकाममा कम्पनीको कार्यालय स्थापना भएपछि चार पालिकामा कम्पनीको खरिद तथा बिक्री केन्द्र अर्थात् डिपो पनि सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खबाङ्ग एवं रेसुङ्गा नगरपालिकाको हाटबजारमा डिपो सञ्चालन गरिएको हो । छत्रकोट गाउँपालिकाको दौघामा पनि डिपो सञ्चालनको तयारी भइरहेको  जनाइएको छ । कम्पनीले किसानको उत्पादनलाई नेपाल सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्ने, प्रशोधन गर्ने साथै ठूला सहरमा मूल्य नियन्त्रण गर्न खाद्य वस्तुहरू सहुलियत मूल्यमा बिक्री वितरण गर्ने र दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गरी जनतालाई सहुलियत मूल्यमा खाद्यान्न वितरण गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update