Shittalpati
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा

पाल्पा, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ । यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन् । इसाई धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहुति दिएको सम्झनामा क्रिसमस डे मनाउने गरिन्छ । ‘क्रिसमस डे’को अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिएको छ । इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा शनिबार र आइतबार पाल्पाको तानसेनमा रौनक छाएको थियो । तानसेनका विभिन्न चर्चहरुमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रम समेत आयोजना गरिएका थिए । 

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् । रातो टोपी लगाएका सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको पादरीले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास छ । सान्टा क्लसले उपहार दिने प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातिअबेरसम्म सुत्दैनन् । यसका साथै केही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साँट्दै हिंड्ने गर्छ भने बालबालिका सान्टा क्लसको भेषमा रमाउने गर्छन् ।

विक्रम संवत् २०६२/०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update