Shittalpati
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

पाल्पा, प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र  नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय किशोर रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै रूपन्देहीकै सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अर्का दुुई जना पक्राउ परेका छन् ।  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update