Shittalpati
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।

उद्योगमा ताला लागेपछि उद्योगको काम हिजो साँझादेखि ठप्प छ । पटक–पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरे पनि कम्पनीले बेवास्ता गरेका कारण स्थानीयले उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् । उद्योगमा ताला लगाएपछि  तीब्र गतिमा भइरहेको काम अहिले ठप्प भएको हो । कम्पनीले आफ्ना मागप्रति बेवास्ता गरेकाले तालाबन्दी गर्नु परेको स्थानीय केशव पोखरेलले बताए । उनले भने‘ कम्पनीले आफ्नो उत्पादनलाई मात्र प्राथमिकता दिएको छ तर मानव स्वास्थ्यप्रति पुरै बेवास्ता गरेकाले स्थानीयहरु एक भएर उद्योग बन्द गराइएको हो ।’  

सिमेन्ट उद्योगबाट निस्केको धुलो–धुवाले स्थानीयले लगाएका तरकारी र मानवीय स्वास्थ्यमा नकरात्मक असर गरेको पोखरेलको भनाई छ । मेहनत गरेर लगाएको रायो साग, काउली र बन्दामा सिमेन्टको धुलो पत्रैपत्र भएर बस्छ जसले गर्दा खाना लायक नै नभएको उनको गुनासो छ । धूलो र धुवाँले गर्दा गाउँमै बस्न सक्ने अवस्था नरहेको पोखरेलले बताए । सिमेन्ट उद्योगबाट निस्केको प्रदुुषणका कारण सञ्चो भएको मान्छे विरामी भएर अस्पताल हिड्नु परेको छ । त्यसैले सिमेन्ट उद्योग बन्द गराउन आन्दोलन सुरु गरेको पोखरेलले बताए । यहाँ घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले समेत घाँस खान छाडेका छन् ।

 कम्पनीका महाप्रबन्धक पदमबहादुर सिंहले भने आफुुहरुले वातावरण प्रदुषण नहोस् भन्नको लागि सबै किसिमका उपायहरु अवलम्वन गरेको दावी गरे । उनले भने‘ शून्य धूूलो–धुवाँ होस् भन्ने चाहना स्थानीयको छ, तर उद्योग सञ्चालन भइसकेपछि र गाडी गुड्न थालेपछि त्यस्तो सम्भव हुँदैन तर पनि हामीहरुले  वातावरण प्रदुुष नहोस् भन्नका लागि सबै किसिमका काम गरेका छौं, हाम्रोतर्फबाट कुनै कसुर बाँकी छैन् ।’ छिट्टै स्थानीयहरुसँगको सहमतिपछि ताला खुल्ने महाप्रवन्धक सिंहले बताए ।  स्थानीय जनप्रतिनिधि, कम्पनीका प्रतिनिधिबिच ताला खुुलाउने विषयमा छलफल भए पनि निष्कर्षमा पुुग्न भने सकेको छैन् ।  रैनादेवी छहरा गाउँपालिकाका–२ वडाअध्यक्ष दानबहादुर पौडेलले  स्थानीय र उद्योग सञ्चालक बीच विवाद सिर्जना भई स्थानीयले उद्योगमा ताला लगाएको बताए । स्थानीय र कम्पनी बीच सहमती जुटाउने प्रयास भए पनि त्यो सफल हुन नसकेको उनको भनाई छ । वडा अध्यक्ष पौडेलले भने ‘छिट्टै जनप्रतिनिधि र सरोकारवाला निकायहरुसँग बसेर समस्याको समाधान गर्नेछौं ।’ उनले जनतालाई असर पुुग्ने गरी काम नगर्न कम्पनीलाई आग्रह गर्दै आए पनि पटक–पटक समस्या दोहोरिने गरेको बताए । पौडेलले भने ‘धूलो धुुवाबाट स्थानीय आजित भइसकेका छन्, यसतर्फ कम्पनीले ध्यान दिनुपर्छ ।’

विशेष गरी उद्योग आसपास रहेका  रिब्दीकोट गाउँपालिका–१ को जोगिथुम, करेचौंर, भाती, रैनादेवी छहरा गाउँपालिका– २ को सोमादी, सर्देवा, छत्रादी, भूतखोला, भोटानी, सिद्देश्वर लगायतका गाउँका बासिन्दामा प्रत्यक्ष असर गरेको छ । प्रभावित सबै गाउँका स्थानीयहरुले संयुक्त रुपमा उद्योगमा ताला लगाएका हुन् । उनीहरुले आफ्ना माग पुरा नहुँदा सम्म काम ठप्प पार्ने चेतावनी दिएका छन् । यहाँका स्थानीयहरुले यस अघि पनि आफ्ना मागहरु राख्दै उद्योगको काम ठप्प पारेका थिए । स्थानीय जनप्रतिनिधि, प्रमुुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई पटक–पटक आफुुहरुको समस्याप्रति जानकारी गराए पनि कोही कतैबाट पहल नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update