Shittalpati
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।

बालिकालाई सुताई घरका परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतक बालिकाको शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको छ । शनिबार  सवा १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको थियो । गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी भएको  प्रहरीले जनाएको छ । आगालागीबाट बालिकाको ज्यान जानुुको साथै गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरेका छन् ।

प्रहरीका अनुसार गोठमा भएका एउटा बाख्रो र १ वटा भैसी जली मरेका छन्  भने १ वटा भैसी आगोले जली घाईते भएको अवस्थामा रहेको छ ।  आगलागीबाट घर तथा गोठ जली पुर्ण रुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । घरमा रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update