Shittalpati
तानसेनमा योमरी महोत्सव हुँदै

पाल्पा, योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो । पछिल्लो समय स्थानीय परिकार, भेषभुषा कला संस्कृती परम्परा संस्कार हराउँदै गएको अवस्थामा पचिहान जोगाउँदै इतिहासबारे युवा पुस्तामा जानकारी गराउन योमरी महोत्सव गर्न लागिएको मैत्री क्लव टक्सारले जनाएको छ । 

नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी, नेवारीमा सबैभन्दा मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरिन्छ । खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछी घरमा भकारी वा धन्सार बनाएर राख्ने मंसिर पुर्णिमाको दिन सोही नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने आफु पनि खाने परम्परा रहेको पाईन्छ । योमरी पुर्णिमाको दिन घर घरमा नाचगान गर्दै योमरी माग्ने चलन विगतका वर्षहरुमा भएपनि अहिले भने यस्तो परम्परा लोप भएको छ ।

काठमाडौं र भक्तपुरबाट बसाई सराई गरेर पाल्पा आएका नेवारी समुदायका बुढापाकाले चलन चल्ती संस्कार, बिधी परम्पराहरुलाई जोगाउन खोजेपनि युवा पुस्तामा परम्परागत कला संस्कृती रहन सहन भेषभुषा हस्तानतरण गर्न, एक पुस्ताबाट अर्काे पुस्तामा सिक्न र सिकाउन पनि तानसेनको टक्सारमा योमरी महोत्सव गर्न लागिएको कार्यक्रमका प्रचार संयोजक रिलरमान महर्जनले जानकारी दिए । तानसेन वडा न ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले नेवारी कला संस्कृती बचाउँन वडा कार्यालयबाट पनि सहयोग गरी महोत्सव गर्न लागिएको बताए ।  टक्सार टोल विशेष गरी नेवारी बस्ती रहेको मैत्री क्लवले लामो समयदेखी सामाजिक काममा सक्रिय रहँदै आएको र स्थानीयकला संस्कृती जोगाउन महोत्सव जस्ता कार्यक्रम गर्दै आएको क्लवका सल्लाहकार दिल बहादुर शाक्यले बताए । महोत्सवमा दर्शकहरुलाई स्टलमै पकाउँदै तातो–तातो खान दिने व्यवस्था गरिएको मैत्री क्लवकी सदस्य तुम्ला बज्राचायले बताईन । महोत्सवमा ३ वटा योमरीको १ सय रुपैँया, नेवारी खाजा सेटको २ सय रुपैँया दररेट तोकिएको छ । 
महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरी लगायतको स्टल प्रदर्शन गरिनेछ । महोत्सवमा मुख्य गरी योमरी बनाउँन सिकाइने, यो परिकारको महत्व तथा फाइदाका बारेमा समेत जानकारी दिइने वडा अध्यक्ष शाक्यले बताए । कार्यक्रम क्लवकी अध्यक्ष मनिता शाक्यको अध्यक्षतामा र सचिव बिनु थापा शाक्य सञ्चालनमा भएको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update