Shittalpati
वैदेशिक रोजगारलाई व्यस्थित गर्न आप्रवासन श्रोत सहायता केन्द्र सञ्चालन 

तानसेन, स्वदेशमै रोजगारी गरांै, विदेश जाने भए सही सूचना लिई सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका आप्रवासन श्रोत केन्द्र सहायता कक्षा जिल्ला प्रशासन कार्यालय पाल्पामा सुरु भएको छ ।  वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा जाने सबै किसिमका पाल्पालीहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सामी परियोजनाले संयुक्त रुपमा सहायता कक्ष सञ्चालन गरेका हुन् । 

वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा जाने सबै व्यक्तिहरुले पहिला आप्रवासन श्रोत केन्द्रमा गई आवश्यकता अनुसारको सूचना लिई राहदानी बनाउँदा अनिवार्य नियम पाल्पामा लागु गरिएको छ । अब पाल्पाली नागरिकहरुले आप्रवासन श्रोत केन्द्रबाट आवश्यक सूचना तथा जानकारी लिएको विवरण पेश गरेपछी मात्र नयाँ राहदानी बनाउन पाउने भएका हुन् । दिनहु बढ्दो बैदेशिक यात्रा लाई सुरक्षित, व्यस्थित, भरपर्दाे बनाउँन, कुन–कुन क्षेत्रमा कतिको संख्यामा नागरिकहरु वैदेशिक यात्रामा गए भन्ने सही सूचना संकलन गर्नको लागी तिन वटै सरकारको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । सूचना केन्द्रको जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरे ।

सूचना केन्द्रको महत्व, आवश्यकता, सुरक्षा लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अधिकृत टुकप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन प्रसाद ज्ञवाली लगायतले प्रकाश पारेका थिए । सामी परियोजनाका प्रदेश व्यवस्थापनक पञ्चराम चौधरीले वैदेशिक रोजगारलाई राज्यले सुरक्षित, व्यवस्थित गर्नको लागी यो अभियान सुरु गरेको बताए । तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागत र नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यको सञ्चालनमा कार्यक्रम चलेको थियो । पाल्पा वैदेशिक रोजगारीको क्षेत्रमा जाने व्यक्तिहरुका आधारमा लुम्बिनी प्रदेशमा तेस्रो जिल्ला रहेको छ । लुम्बिनी प्रदेशबाट १० लाख युवा वैदेशिक रोजगारीमा गएका छन्, भने पाल्पाबाट ७३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् । सूचना केन्द्रको लागी प्रदेश सरकारबाट १८ लाख र तानसेन नगरपालिकाबाट ५ लाख रुपैया बजेट रहेको छ ।

    

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update