Shittalpati
डेंगुका बिरामी फेला

वालिङ, स्याङ्जाको वालिङमा डेंगुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डेंगुका बिरामी फेला परेसँगै वालिङ नगरपालिकाले रोग नियन्त्रणका लागि छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले बताए ।

‘यो भाइरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार छैन पूर्वसावधानी नै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यो रोग सर्नुका कारण, यसका लक्षण तथा यसबाट बच्न अपनाउन सकिने उपायबारेमा नगरवासीलाई सचेतना जगाउनका लागि प्रचारात्मक अभियान चलाउँछौँ ।’ नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेंगु नियन्त्रणका लागि यसका बासस्थान नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने नगर प्रमुख खाँणले बताए । डेंगु ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेंगु रोगको संक्रमण हुनसक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले आग्रह गरे । –रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update